काठमाडौं- बुक बिल्डिङ विधिबाट सेयर निष्कासन प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेड ले गत आर्थिक वर्ष २०८१/८२ मा नाफा र आम्दानी दुवैमा उल्लेख्य वृद्धि गरेको छ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा खुद नाफा ८४५ दशमलव ५१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको रिलायन्सले गत आवमा यो रकम बढाएर ४७ करोड ६३ लाख रुपैयाँ पुर्याएको हो।
नाफा वृद्धिसँगै कम्पनीले आफ्ना श्रमिक–कर्मचारीलाई दिने बोनस पनि ५०० प्रतिशतले बढाएको छ। आव २०८०/८१ मा १ करोड १ लाख रुपैयाँ बोनस वितरण गरिएकोमा गत आव २०८१/८२ मा बोनस बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।
उद्योगमा कार्यरत जनशक्तिको पारिश्रमिक खर्च पनि बढेको छ। गत आवमा पारिश्रमिकमा ११ करोड ६० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ, जुन अघिल्लो वर्षको भन्दा करिब ५५ लाख रुपैयाँ बढी हो।
वित्तीय विवरणअनुसार अघिल्लो वर्ष ९ अर्ब २० करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत आवमा आम्दानी बढाएर १० अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ। कम्पनीको कुल सम्पत्ति १४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने कुल दायित्व ७ अर्ब ३६ करोड रुपैयाँभन्दा माथि रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी छ भने अन्य इक्विटी करिब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी अघिल्लो आवको २ रुपैयाँ ९५ पैसा बाट बढेर गत आवमा २७ रुपैयाँ ९० पैसा कायम भएको छ ।