काठमाडौं- 'नाडा अटो शो'को तयारी अन्तिम चरणमा पुगेको छ। सहभागी कम्पनीहरूले स्टल निर्माण धमाधम गरिरहेका छन्। सहभागीहरूलाई अटो शो सुरु हुनुअघि नै सम्पूर्ण काम सक्नेगरी लाग्न भनिएको नाडाले जनाएको छ।
भोलि मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उड्ने कारदेखि रोबोटसम्म आकर्षणको रुपमा रहनेछ।
त्यस्तै यो संस्करणको नाडा अटो शोमा पुराना भिन्टेजहरू पनि छुट्टै पेभिलियनमा राखिने नाडाले जनाएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोको यो संस्करणमा प्रविधि र भविष्यमुखी सवारी देख्न पाइने नाडाको भनाइ छ।
नाडा अटो शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिने छ।
यो वर्षको अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागीता जनाउने छन्। त्यस्तै ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने नाडाले जनाएको छ।
स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ।
अटो शोमा मिडिया डेस्क, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताए। अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रम आयोजना गर्ने तयारी नाडाले गरेको छ।