काठमाडौं- हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८४ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो नाफा १ अर्ब ३१ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १७.४५ प्रतिशतले बढेको छ भने कुल आम्दानी १७.०६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, खुद दाबी भुक्तानी ३०.७६ प्रतिशतले बढेको छ भने कुल खर्च १९.१२ प्रतिशतले वृद्धि भएको विवरणमा उल्लेख छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा १६ पैसा बढेर १२ रुपैयाँ ७९ पैसा पुगेको छ। गत असार मसान्तसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ७१.९७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा पुगेको छ।
१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ३ अर्ब १२ करोड रुपैयाँ, विशेष जगेडामा १ अर्ब ९६ करोड रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ८० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको छ। तर, अन्य इक्विटी १८ करोड ४८ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।