काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले गत आर्थिक वर्ष २०८१/८२ मा ६४.४३ प्रतिशतले नाफा वृद्धि गर्दै ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी भने ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँमा सीमित रह्यो। अघिल्लो वर्ष यस मदमा १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ आम्दानी भएको थियो।
समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशतले बढेर २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँमा झरे पनि सञ्चालन नाफा ५८.६६ प्रतिशतले वृद्धि भई १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ पुगेको छ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ, जसको आधारमा लाभांश वितरण क्षमता १.३३ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष यस मद ऋणात्मक अवस्थामा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ थियो।
३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ।
गत असारसम्ममा बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ४ खर्ब ३ अर्ब ४१ करोड ६९ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब ४९ करोड ४८ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) गत वर्षको ७९.२२ प्रतिशतबाट घटेर ७४.४४ प्रतिशतमा झरेको छ। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १२.०४ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ र मूल्य-आम्दानी अनुपात ११.६७ गुणा रहेको छ।
खराब कर्जा भने अघिल्लो वर्षको ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ।