काठमाडौं- गएको दुई सातामा १३२.२७ अंकले घटेको सेयर बजार यो साता समग्रमा ६२ अंकले घटेको छ। गएको तीन सातामा बजार १९४.२७ अंकले घटेको हो।
यो साता पहिलो कारोबारमा सोमबार २७.९० अंक र मंगलबार २६.२२ अंकले घटेको बजार बुधबार १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा झरेको थियो। बिहिबार भने २.६२ अंकले बढेर बजार २७८८.३६ बिन्दुमा पुगेको छ। १०८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।
गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे। अहिले पुन: बजार त्यही अवस्थामा देखिन्छ।
बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।