काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४९.५३ प्रतिशतले वृद्धि भई ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत वृद्धि भई १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम १० अर्ब ३ करोड २ लाख ४० हजार रुपैयाँ थियो।
यसै अवधिमा खुद शुल्क तथा कमिसन आम्दानी ७२.८८ प्रतिशतले बढेर १ अर्ब २५ करोड ५२ लाख ३१ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ११.२५ प्रतिशत बढ्दै १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ भएको छ भने सञ्चालन नाफा ३१.५७ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँमा पुगेको छ।
वितरणयोग्य नाफा भने गत वर्ष ३० करोड ३४ लाख ९६ हजार रुपैयाँमा सीमित रहेको छ, जसको आधारमा लाभांश वितरण क्षमता १.९४ प्रतिशत मात्र छ। अघिल्लो वर्ष यसमा १ अर्ब २२ करोड २१ लाख ५३ हजार रुपैयाँको ऋणात्मक स्थिति थियो।
१५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडामा ३७ अर्ब ४७ करोड ५४ लाख ९ हजार रुपैयाँ छ। असार मसान्तसम्म बैंकको निक्षेप १६.५९ प्रतिशतले बढेर ५ खर्ब ४१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख ६० हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष निक्षेप ४ खर्ब २९ अर्ब १८ करोड ७७ लाख ६३ हजार रुपैयाँ र कर्जा २ खर्ब ४५ अर्ब ५९ करोड ५४ लाख ६७ हजार रुपैयाँ मात्र थियो।
बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६२.३९ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्ष ६०.८२ प्रतिशत थियो। नाफा वृद्धि संगै प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४१ पैसा पुगेको छ, अघिल्लो वर्ष यो १६ रुपैयाँ ३२ पैसा थियो। खराब कर्जा अनुपात ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ भने बैंकको इक्विटीमा प्रतिफल ७.६० प्रतिशत र आधारदर ४.७८ प्रतिशत कायम छ।