काठमाडौं- नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३२.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ थियो।
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत वृद्धि भई १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ८ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ थियो। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ, र सञ्चालन नाफा ६९२ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक अवस्थामा रह्यो। गत वर्ष वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ, जसका कारण बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्था आएको हो। अघिल्लो वर्ष पनि वितरणयोग्य नाफा ९६ करोड ५० लाख ७४ हजार रुपैयाँ ऋणात्मक थियो।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ। निक्षेप संकलन १७.२८ प्रतिशत वृद्धि भई ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी १३.८८ प्रतिशत वृद्धि भई २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष निक्षेप २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख ४५ हजार रुपैयाँ र कर्जा १ खर्ब ९४ अर्ब ६६ करोड ७७ लाख ७० हजार रुपैयाँ थियो।
बैंकको प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ०.१९ रुपैयाँभन्दा धेरै वृद्धि हो। प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात ११.३५ गुणा छ।
बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ। रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ।