म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सबस्टेसनको पूर्वाधार निर्माण सकिएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रसारणलाइन आयोजनामार्फत सबस्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो।
आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सबस्टेसनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए।
'५१ रोपनीमा निर्माण भएको डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ,' उनले भने, 'म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सबस्टेसन निर्माण हुन लागेको हो।'
डाँडाखेतदेखि रघुगंगा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन २०२१ को डिसेम्बर ३१ मा तीन अर्ब ५७ करोड रूपैयाँमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ।
'समग्रमा ७९ दशमलव १७ प्रतिशत भौतिक प्रगति भएको छ', आयोजना प्रमुख अग्रवालले भने, 'राहुघाटमा कमजोर भूबनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो।'
१३२ केभी क्षमताको डबल सर्किट प्रसारणलाइन को हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ। चार वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ। प्रसारणलाइन र सबस्टेसनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ।
२२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने जीआईएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेसन सकेर संरचना निर्माण थालिएको छ। अम्बाङमा सबस्टेसन बनाउन ६ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो।
निर्माण कम्पनीले पछिल्लोपटक केही दिनअघि भारतबाट करिब एकसय जना जनशक्ति ल्याएको छ। कुल चार अर्ब ८८ करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि एक अर्ब पाँच करोड रूपैयाँ विद्युत् प्राधिकरण र तीन अर्ब ८२ करोड रूपैयाँ एसियाली विकास बैंकको ऋण लगानी छ।
रघुगंगा गाउँपालिका-३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिका-१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारणलाइनको टावर निर्माणस्थल हुन्। टावर रहने निजी जग्गाधनीलाई एक करोड ५० लाख रूपैयाँ मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेबापत चार करोड ५० लाख रूपैयाँमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको छ।
म्याग्दी नदीमा १७२ दशमलव आठ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन्। राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको चिमखोला-राहुघाट-मंगले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेका छन्।
कुल ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्। तुदी पावरले बताएको चिमखोला-राहुघाट-मंगले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारणलाइनमा विद्युत् आपूर्ति गराउन थालेका हुन्। रासस