आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

१० ठूला बैंकको कर्जा लेखापरीक्षणका लागि बंगलादेशी कम्पनीसँग सम्झौता यसै साता हुने, यी हुन् सम्भावित बैंकहरू

बुधबार, साउन २८ २०८२
१० ठूला बैंकको कर्जा लेखापरीक्षणका लागि बंगलादेशी कम्पनीसँग सम्झौता यसै साता हुने, यी हुन् सम्भावित बैंकहरू

बुधबार राष्ट्र बैंकले आशयपत्रको सूचना प्रकाशित गर्दै सम्झौता तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गर्न बंगलादेशको हवलदार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई छनोट गरेको छ।

यसै साताभित्र उक्त कम्पनीसँग ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता हुने राष्ट्र बैंकले जनाएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८ बमोजिम प्राविधिक र वित्तीय प्रस्ताव मूल्यांकन गरेर कम्पनी छनोट भएको हो। बुधबार राष्ट्र बैंकले आशयपत्रको सूचना प्रकाशित गर्दै सम्झौता तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

यो परीक्षण अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नेपाल सरकारले लिएको विस्तारित कर्जा सुविधा अन्तर्गतको प्रमुख सर्त हो। सो सुविधा लिँदा वाणिज्य बैंकहरूको कर्जाको लेखापरीक्षण स्वतन्त्र अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत हुनुपर्ने व्यवस्था गरिएको थियो। मुद्रा कोषले नेपालका बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको गुणस्तर र निष्क्रिय कर्जाप्रति संशय जनाउँदै यस्तो प्रावधान राखेको हो।

अघिल्लो आर्थिक वर्षमै राष्ट्र बैंकले लेखापरीक्षक छनोटका लागि बोलपत्र आह्वान गर्दा भारतीय कम्पनी केपीएमजी प्राविधिक रूपमा छनोट भए पनि आर्थिक प्रस्ताव सार्वजनिक खरिद ऐन विपरीत हुने निष्कर्ष आएपछि प्रक्रिया स्थगित भएको थियो। पछि नयाँ बोलपत्र आह्वान गरी छनोट प्रक्रिया अघि बढाइएको हो। सोही क्रममा हवलदार युनुस एण्ड कम्पनी प्राविधिक र आर्थिक दुवै मूल्यांकनमा योग्य ठहरिएपछि राष्ट्र बैंकले सम्झौताको तयारी गरेको हो।

कम्पनीले कर्जा लगानीको आधारमा छनोट गरिने १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियोको प्रत्यक्ष अध्ययन गरी प्रतिवेदन राष्ट्र बैंकमा पेस गर्नेछ। यसका लागि सम्भावित सूचीमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक, प्रभु बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, हिमालयन बैंक र सिद्धार्थ बैंकका नाम रहेका छन्।


प्रकाशित : बुधबार, साउन २८ २०८२०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend