विराटनगर- काठमाडौंबाहिर भर्खरभर्खर ठूलो लगानीका व्यवस्थित होटल तथा रिसोर्टमा लगानी बढ्दै थियो। ठूला सहरहरूमा लगानी गर्न व्यवसायीहरू उत्साहित भइरहेका थिए। भूकम्पपछि त सहरबाहिर पनि लगानीको नयाँ गन्तव्य बढ्दै गयो। त्यही क्रममा धनकुटाको हिलेमा 'होराइजन माउन्टेन रिसोर्ट'को सञ्चालन सुरु भयो।
पूर्वका ठूला सहरहरू विराटनगर, इटहरी, बिर्तामोडमा नै हस्पिटालीटीमा ठूलो लगानी नभइरहेको अवस्थामा पहाडी क्षेत्रमा लगानी चुनौतीपूर्ण थियो। त्यही चुनौतीका बीच रेवतबहादुर थापाले १९ करोड रुपैयाँको लगानीमा रिसोर्ट खोले।
थापाले मध्यपहाडी क्षेत्रमा गरेको लगानीले पर्यटन व्यवसायीलाई उत्साहित बनायो। होराइजनको स्थापनाको प्रभाव सहरमा समेत देखा पर्यो। नयाँ होटेलहरू खुल्ने क्रम बढे। त्यहीबीचमा खुलेका होटेलहरू अहिले व्यवस्थित तरिकाले चलिरहेका छन्।
करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको होराइजन रिसोर्टमा ३१ कोठा र ६ वटा कटेज रहेका छन्। एकैपटक २ सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हल छ। थापाले रिसोर्टकै लागि अर्गानिक तरकारी खेती, डेरी, खसीबोका र कुखुरा फार्मसमेत सञ्चालन गरेका थिए।
मकालु, सगरमाथा र कञ्चनजंघा हिमशृङ्खलाको दृश्यावलोकन यहाँको मुख्य आकर्षण हो। रिसोर्टले पाहुनका लागि घोडचढी, साइकलिङ र दृश्यावलोकनको पनि सेवा दिएको थियो। स्थापना कालमा अन्य लगानीकर्तालाई उत्साह बढाएको होराइजन भने निराशाजनक अवस्थामा पुगेको छ।

केही समयको लागि रिनोभेसन गर्ने भनिए पनि ६ महिनादेखि सेवाप्रवाह स्थगित भएको छ। सञ्चालक थापा होराइजन बन्दको अवस्थामा नरहेको तर सरकारको खराब मनोवृत्तिले व्यवसाय समस्यामा परेको बताउँछन्।
कोरोना महामारीपछि बैंकको दबाब बढेको कारण धेरै समस्या भोग्नुपरेको उनको अनुभव छ। हस्पिटालिटीलाई चेन बिजनेसको रूपमा अगाडि बढाउने योजनाअनुसार होराइजन सुरु गरेको थापाले बताए।
होराइजनको स्थापनासँगै विराटनगरमा सास्तम होटेल म्यानेजमेन्ट कलेज सञ्चालनमा ल्याए। सास्तममा उत्पादित दक्ष जनशक्तिलाई होटेलमा रोजगारी दिने उनको योजना थियो।

होराइजनमा खपत भएको जनशक्तिलाई विराटनगरको रत्नामा रोजगारी दिलाउने तयारीमा लागे थापा। तर थापाले सोचेजस्तो परिस्थिति विकास भएन। होटल म्यानेजमेन्टका विद्यार्थी विदेशिने क्रम बढ्यो। युरोप तथा अन्य मुलुकमा पनि होटेल म्यानेजमेन्टको माग बढ्दै गयो। युवाहरूको आकर्षणको विषय बन्यो होटेल म्यानेजमेन्ट। केही समय इन्टर्न गरेर विदेश जाने क्रम बढेपछि जनशक्तिको अभावमा परे थापा।
उनले भनेअनुसार जनशक्तिको अभावसँगै होराइजनले व्यवस्थापकीय अभावसमेत झेल्नुपर्यो। युवाहरू नेपालमा नरोकिएका कारण संकट आइपरेको उनको भनाइ छ। यसले अहिले आफूलाई समस्या परेपनि पछि ठूला होटेल सञ्चालनमा झनै समस्या देखापर्ने भएको उनी बताउँछन्।

नेपाल सरकारले युवाहरूलाई रोक्न पहल नगरेको उनको गुनासो छ। विराटनगरको रत्ना होटेल उनका छोरा रोशनबहादुर थापाले सञ्चालन गरिरहेका छन्। थापाले भने होराइजनलाई थप व्यवस्थित गर्न लागिएको बताए।
धनकुटामा जन्मिएका उनी जन्मभूमिमा केही योगदान दिने प्रयास गरेको बताउँछन्। सोही क्रममा १५ सय रोपनी जमिनमा एभोकाडो र कफीको खेती गरे। केही समय फस्टाए पनि सिँचाइको अभावमा अहिले बिरुवा मरेको सुनाउँछन् थापा।
७६ वर्ष पुगेको सुनायने रेवत अझै हिम्मत नहार्ने बताउँछन्। पुनः कृषिमार्फत स्वदेशी उत्पादनमा लागिपर्ने उनको योजना छ।
यहीबीचमा उनले तमोरको मुलघाटमा नयाँ रिसोर्ट खोल्ने तयारी गरेका छन्। तमोर र कोशी कोरिडोरको दोभानको रूपमा रहेको मुलघाटमा रिसोर्ट खोलेर थप व्यवसाय बढाउन लागेको उनले बताए। पर्यटन व्यवसायलाई कायापलट गर्ने उनको महत्त्वाकांक्षी सपना छ। विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने लबिङमा पनि छन् उनी।
पर्यटन बोर्डको सदस्य भइसकेका उनी क्षेत्रीय अन्तर्राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय विमानस्थल नै बनाउनुपर्ने अडानमा छन्। १७ वर्षदेखि नेपाल टुरिजम फेडरेसन नामको संस्थाको नेतृत्व गरिरहेका थापा पर्यटन व्यवसायीको साझा संस्थाको रूपमा विकास गराउन लागिपरेका छन्।
२०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापा अब विराटनगर महानगरपालिकाको मेयरको तयारीमा छन्। मेयर कसरी बन्ने र के-के काम गर्ने भन्ने तयारीमा आफू रहेको उनले बिजनेस न्युजलाई बताए।