भोजपुर- अविरल वर्षाका कारण भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका-६ मा ६ घरपरिवार विस्थापित भएका छन्।
केही दिनदेखिको अविरल वर्षाका कारण साल्पासिलिछो वडा नं ६, खाम्दाकका छ घर परिवार घर छाडेर अन्यत्र विस्थापित भएका हुन्। घरमाथि र मुनिबाट पहिरो जान थालेपछि उनीहरूलाई सुरक्षित आफन्त तथा अन्य स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष विक्रम वनले जानकारी दिए।
चर्किएर घरमा बस्न नमिल्ने गरी क्षति पुगेकाले उनीहरूलाई आफन्त र क्लबको भवनमा राखिएको वडाध्यक्ष वनको भनाइ छ।
विस्थापित हुनु हुनेहरूमा सोही वडाका विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार रहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश यादवले वर्षासँगैको पहिरोको जोखिममा परेको जानकारी आएको बताए। रासस