बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट तर हाइड्रोपावरको मूल्यमा उछाल

बुधबार, फागुन ११ २०७८
सेयर बजारमा दोहोरो अंकको गिरावट तर हाइड्रोपावरको मूल्यमा उछाल

काठमाडौं- मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार भने घटेको छ। यो साता अहिलेसम्म भएको चार दिनको कारोबारमा दुई दिन बजार बढेको छ भने दुई दिन भने बजार घटेको छ। 

मंगलबार १७.४२ अंकले बढेर सेयर बजार २७३५.९३ बिन्दुमा पुगेको बजार बुधबार १५.५० अंकले घटेर २७२०.४३ बिन्दुमा झरेको छ।

बुधबार ३ अर्ब १३ करोड रूपैयाँको कारोबार भएको छ। जसमा ५८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

मंगलबारबाट पुनः हाइड्रोमा लगानीकर्ता फर्किएपछि सेयर बजार दोहोरो अंकले बढेको थियो। बुधबार समग्रमा बजार घटे पनि हाइड्रोपावरको सेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। बुधबार दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड इदी-मर्दी एन्ड आर वि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।

अन्य धेरै सेयर मूल्य बढ्नेमा पनि हाइड्रो पावर कम्पनीहरू नै रहेका छन्। जसमा घलेम्दी हाइड्रो, रूरू जलविद्युत, तेह्रथुम पावर, सामलिङ पावर, मैलुङ खोला जलविद्युत, मध्य भोटेकोशीलगायत रहेका छन्। 

राष्ट्र बैंकले सेयर कर्जामा थप कडाई गर्ने त्रासका कारण साताको पहिलो दिन आइतबार ३९.४० अंकले बजार घटेको थियो। सोमबार सेयर बजार २५.४१ अंकले बढेको थियो। नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछि लगातार घटेको सेयर बजार गएको सोमबार भने बढेको थियो। 

गत बिहीबार नेपाल राष्ट्र बैंकले ६ महिनाको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो। समीक्षामा स्थिर राखे पनि अनुत्पादक क्षेत्रको रुपमा घरजग्गा र सेयरलाई राख्ने त्रासका कारण सेयर बजार घट्दै आएको थियो। तर विभिन्न व्यवसायीहरूको छाता संगठनले समेत समीक्षा गलत भएको भन्दै सच्याउन माग गरिरहेका छन्।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असर सेयर बजारमा परेको भन्दै ठूला लगानीकर्ताले चलखेल गरिरहेको विश्लेषक अनलराज भट्टराईले बताएका छन्। 'सेयर कर्जा घटाएको कारणले सेयर बजार बिग्रियो भन्नु त्यो समाचार मात्रै हो। यो संगठित रुपमा नियोगित हिसाबले सेयर बजारमा खेल खेल्नको लागि मौद्रिक नीतिले असर गर्दछ भनिएको हो। जम्मा १६५ तथा करिब ५ सय जना जतिले १२ करोड माथि कर्जा लिएका छन्' उनले भने, '४० लाख मान्छेले सेयर कर्जा नलिकन कारोबार गर्दा उसलाई कहाँ असर पर्‍यो त? जसले बढीमा खेल खेलिरहेको छ। जसलाई बढी फाइदा लिनुछ। उनीहरूको हङगामाले गर्दा यस्तो भएको हो । लगानीकर्ता कसैलाई पनि असर परेको छैन।'


प्रकाशित : बुधबार, फागुन ११ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend