दाङ- दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१/८२ मा दुईसय ७१ मध्ये दुईसय ६९ योजना सम्पन्न गरेको छ।
कार्यालय प्रमुख कृष्णबहादुर विकले ३२ करोड ७३ लाख रुपैयाँ बजेमध्ये ३१ करोड ८३ लाख ५६ हजार रुपैयाँ अर्थात् ९७.२७ प्रतिशत खर्च भएको जानकारी दिए।
उनका अनुसार जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ८७, सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ एकसय ४५, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रमतर्फ ३२ र जलाशय निर्माणका पाँचवटा योजना पूरा भएका हुन्।
सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारका दुईवटा योजना भने कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। हाल कार्यालयबाट तीनवटा बहुवर्षीय योजनाको काम चलिरहेको छ।
झिग्नी बबई सिँचाइ योजना घोराही-३ र घारिचौर सिँचाइ योजना बङ्गलाचुली-७ को ठेक्का सम्झौता भइसकेको छभने बस्तीखोला सिँचाइ योजना शान्तिनर-३ र ४ को काम बोलपत्र आह्वान भएको छ।
कार्यालयले २०७२ सालदेखि अहिलेसम्म एकसय ६२ किलोमिटर नहर पक्की बनाएको छभने ६७ लिफ्ट सिँचाइ, ६७ पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ, ४५ वटा विद्युतीकरण गरेको छ। जसबाट थप सात हजार ६ सय ३२ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ।
साथै ३१ हजार ५८३ हेक्टरमा सिँचाइ सुविधा सुदृढीकरण गरिएको कार्यालयले जनाएको छ। त्यसैगरी, कूल ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रण गरिएको छ। जसबाट १२ हजार ५४६ हेक्टर जमिन सुरक्षित भएको छभने आठ हजार ६ सय ५८ वटा घर सुरक्षित भएका छन्।
कार्यालय प्रमुख विकका अनुसार दाङमा ७५ हजार ९ सय ९१ हेक्टर (२५.७२ प्रतिशत) कृषि क्षेत्र हो। जसमध्ये अहिले ६० हजार तीनसय ६७ हेक्टर (२०.४३ प्रतिशत) मा सिँचाइ सुविधा पुगेको छ। रासस