तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका-७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ। यसका लागि गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ।
यहाँस्थित दुई रोपनी जग्गामा कोदोको बीउ राखिएको वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए। यस अगाडि कृषकले एक्लाएक्लै रूपमा कोदो रोप्ने गरेपनि अबभने सामूहिक रूपमा कोदो खेतीलाई अगाडि बढाइएको उनको भनाइ छ।
उनका अनुसार यहाँ गाउँपालिकाको सहयोगमा आठ प्रजातिका रैथाने कोदोको बीउ रोपिएको छ। उनले भने, ‘पहिला पनि यहाँ मकै र कोदो खेती हुन्थ्यो, तर अहिले कृषकलाई संगठित रूपमा कोदो खेतीमा आकर्षित गर्न खोजेका हौँ।’ माझिलाङ र हर्षपुरमा कोदो खेती हुने गरेको छ।
म्याग्देका अन्य वडामा भन्दा यस क्षेत्रमा कोदो राम्रो उत्पादन हुने गरेको छ। यहाँका कृषकलाई आवश्यक उपकरण पनि प्रदान गरिएको छ। बजारमा कोदोको राम्रो माग रहेको जनाउँदै उनले भने, ‘पहिला पहिला कोदो लुकेर खाने प्रचलन थियो, आजभोलि परिस्थिति फेरिएको छ, हुने खानेले पनि कोदोको प्रयोग गर्ने अवस्था बढेको छ।’
माझिलाङ कृषक समूहका अध्यक्ष श्याममाया नाम्जाली दुई रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा कोदो रोपिएको जानकारी दिए। उनका अनुसार विगतमा छुट्टाछुट्टै रूपमा कोदो खेती गर्ने गरिएको थियो।म्याग्दे गाउँपालिकाकाले कोदो खेतीलाई प्राथमिकतामा राखेको जनाउँदै अन्य वडामा पनि यसलाई विस्तार गरिने स्पष्ट पारेको छ।
कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति हुने भएकाले यसको खेतीमा फाइदा रहेको जनाइएको छ। रासस