शनिबार, साउन २४ गते २०८२    
शनिबार, साउन २४ २०८२
images
images

अधियाँ खेतीमा निर्भर छन् भूमिहीन परिवार

images
शनिबार, साउन २४ २०८२
images
images
अधियाँ खेतीमा निर्भर छन् भूमिहीन परिवार

नगरपालिकामा १२ हजार ५८ घरधुरीमध्ये आठसय २८ परिवारसँग अझैपनि आफ्नो नाममा जग्गा छैन। पुरुषको जग्गामा स्वामित्व ९४ प्रतिशत छ भने, महिलाको नाममा पाँच दशमलव आठ प्रतिशत जग्गाको स्वामित्व छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन। छिमेकीको अधियाँँ-बटैयामा बनाएको खेत बारी जोत्नका लागि हो।

images

उनीसँग घरवासका लागि मात्रै जग्गा छ। त्यस जग्गाले परिवारको वर्षभरिको खानाको जोहो नहुने भएपछि अधियाँँ-बटैयामा जग्गा कमाउँदै आएका छन्। उनीजस्तै अधियाँँ-बटैयामा खेती गर्ने नगरपालिकामा दर्जनौँ किसान छन्।

images
images

जो जीविका चलाउनकै लागि अधियाँँ अर्थात् बटैयामा खेती गर्दै आएका छन्। बटैयामा खेती गर्ने किसानले र जग्गाधनीले उत्पादन भएको अन्न आधा-आधा बाँडेर लिने गरेका छन्। जसका लागि जग्गाधनीले जग्गासँगै सिँचाइका लागि पानी निःशुल्क रूपमा उपलब्ध गराउँछन्।

images
images
images

अधियाँँ लगाउनेले खेत जोत्छन्। खेती लगाउ छन्, काट्छन्, बाली पाकेपछि भित्र्याउने जिम्मा पनि अधियाँँ गर्नेकै हुने हुन्छ। तर जोत्ने कार्यबाहेक थ्रेसिङ गर्दा लाग्ने खर्च, मलखाद, विषादी, बीउबिजनलगायतको खर्च अधियाँँ बनाउने र जग्गा धनिले आधा-आधा बेर्होछन्।

जग्गा थोरै हुँदा वर्षभरी खान नपुग्ने परिवारले अधियाँँ खेती लगाउने गरेका छन्। अधियाँँ खेती गर्ने कार्य भने धेरै वर्षअघिदेखि चल्दै आएको छ। अधियाँमा खेती गरेर जग्गाधनी र खेती लगाउने व्यक्ति गरी दुई परिवारको जीविका चल्ने गरेको कलेशु चौधरीले बताए।

उनका अनुसार अधियाँँ लगाउने जोताहा किसानलाई जग्गाधनीले पहिला घरको काममा पनि लगाउने गर्दथे। त्यसका लागि अधियाँ माग्न जाँदानै मौखिक रूपमा करार गर्नुपर्दथ्यो। बदलिँदो परिवेशअनुसार हाल अधियाँँ लगाउने व्यक्तिले जग्गाधनीको घरायसी काम भने गर्नुपर्दैन। त्यो चलन हटेको छ।

‘कसैले स्वविवेकले कार्य गरे भने त्यो बेग्लै कुरा हो’ कलेशु भन्छन्, ‘पुरानो चलन हटेको छ, मौखिक रूपमा विश्वासका आधारमा हाल काम हुने गरेको छ, अधियाँँ लगाउने र जग्गाधनीबीच भने कुनै लिखित करार हुने गरेको छैन।’

जग्गाधनीले अधियाँँ लगाउने किसानले खेती राम्ररी नलगाएबीचमै छुटाउने कार्य हुँदै आएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर चुँनाँराले बताए। त्यस कार्यले अधियाँमा जीविका चलाउने परिवार भने समस्यामा पर्ने गरेको उनकाे भनाइ छ।

मञ्चले सङकलन गरेको तथ्याङकअनुसार नगरपालिकामा खेती गर्ने जमिन थोरै छ। जमिनमा आश्रित जनसंख्या अत्यधिक छ। नगरपालिकाको कूल १६२ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये केवल आठ दशमलव ४२ वर्ग किलोमिटर (५.१७ प्रतिशत) जमिन मात्रै खेतीयोग्य छ।

बाँकी सबै क्षेत्रमा वन, बस्ती, सडक, खोलानाला, धार्मिक क्षेत्र र अन्य प्रयोगको जमिन रहेको छ। नगरपालिकामा १२ हजार ५८ घरधुरीमध्ये आठसय २८ परिवारसँग अझैपनि आफ्नो नाममा जग्गा छैन। पुरुषको जग्गामा स्वामित्व ९४ प्रतिशत छ भने, महिलाको नाममा पाँच दशमलव आठ प्रतिशत जग्गाको स्वामित्व छ।

लैंगिक समानताका चर्का कुरा गरिए पनि व्यहारमा भने महिलाको सम्पती माथिको अधिकार सीमित रहेको मञ्चका सचिव चुँनारा बताउँछन्। उनका अनुसार भूमिहीनहरू मध्ये धेरैजसो दलित, सुकुम्बासी र आदिवासी जनजाति समुदायका व्यक्तिहरू रहेका छन्।

जसले पुस्तौँदेखि अरुको जमिनमा अधियाँँ जग्गा कमाउनका लागि पसिना बगाइरहेका छन्। ‘हामी पुर्खौदेखि अरुको जमिन जोत्दै आएकाछौँ’ गोरे दमाईले भन्छन् ‘आफ्नो नाममा जग्गा छैन अरुकै भरमा जीविका चल्दै आएको छ।’

भूमि अधिकार मञ्चका अनुसार, हालसम्म नगरपालिकाबाट एघार हजार आठसय ५४ अव्यवस्थित बसोबासी, दुईसय १५ भूमिहीन दलित र एकसय ४८ सुकुम्बासीले जग्गा स्वामित्वका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन्।

निवेदन दिएकामध्ये केही वडाका अव्यवस्थीत बसोबासीको जग्गा नापजाँचको कार्य भएको छ भने केही हुने क्रममा रहेको छ। भूमिहीन दलित र सुकम्बासीले निवेदन दिए पनि कुनै पनि कार्य अगाडि बढन सकेको छैन।

जग्गामा खेती लगाए पनि वर्षेनि आउने बाढीले शुक्लाफाँटाका किसानलाई सास्ती दिने गरेको छ। बाढीकै कारण लगाइएको खेती डुबान र कटानका कारण प्रतिवर्ष प्रभावित हुने गरेको छ।

जलवायु परिवर्तनको असरका कारण बेमौसमी वर्ष हुँदा खेती भित्र्याउन नपाउँदै कुनै वर्ष खेतमै धान, गहुँलगायतका बालीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था रहने मञ्चका सुदूरपश्चिम अध्यक्ष नन्दादेवी जोशीले बताए।

उनका अनुसार अघिल्लो दुई वर्षमा मात्रै नगरपालिकाका आठभन्दा बढी परिवार बाढी र डुबानले प्रत्यक्ष प्रभावित भएका थिए। ‘जसबाट सबैभन्दा बढी मार अधियाँँ जग्गा कमाउने जोताहा किसानलाई पर्ने गरेका छन्’ उनले भने, ‘जसमा भूमिहीन दलित, सुकुम्बासी परिवारका व्यक्तिहरू समस्यामा पर्ने गरेका छन्।’

जलवायु परिवर्तनको असरले वर्षा चक्र अनियमित बन्दा कहिले अति पानी, कहिले खडेरी हुन्छ। तापक्रमको वृद्धिसँगै नयाँ रोग र किराको प्रकोप फैलिएको छ। जसले नगदेबाली र तरकारी उत्पादनमा ठूलो असर परेको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर बताउँछन्।

पछिल्ला वर्षहरूमा केही उत्साही कृषकहरूले  व्यावसायिक तरकारीखेती, फलफूल (केरा, आँप, लिची), नगदेबाली, कुखुरापालन र बङ्गुरपालनजस्ता मिश्रित खेती र पशुपालनलाई अँगाल्न थालेका छन्। तिनीहरूको संख्या भने थोरै रहेको छ।

‘अब परम्परागत खेतीले मात्रै हुँदैन, मौसमको अनिश्चिततासँग जुध्नका लागि खेतीमा परिवर्तन गर्नु आवश्यक छ’ उनले भने, ‘मौसम सुहाउँदो बढी उत्पादन दिने बाली लगाउनका लागि किसानलाई उत्प्रेरित गर्ने कार्य हुँदै आएको छ।’

त्यसका लागि किसानलाई नगरपालिकाका तर्फबाट बीउबिजन, कृषि औजार, उपकरण, सिँचाइका साधनमा अनुदान दिने कार्य हँदै आएको उनले बताए। रासस


प्रकाशित : शनिबार, साउन २४ २०८२१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend