शनिबार, साउन २४ गते २०८२    
शनिबार, साउन २४ २०८२
images
images

पाँच हजार नेपालीलाई उद्यमी बनाउने सपना देखेका क्यानडेली व्यवसायी आदित्य झा

images
शनिबार, साउन २४ २०८२
images
images
पाँच हजार नेपालीलाई उद्यमी बनाउने सपना देखेका क्यानडेली व्यवसायी आदित्य झा

थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन्। लोभलाग्दा सफलता छन्। उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन्।

images
images

काठमाडौ‌ं- नेपाली मूलका क्यानडेली व्यवसायी हुन् आदित्य झा। ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी। डिजी मार्केट इन्टरनेसनलका संस्थापक पनि हुन्। महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिएका आदित्य नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन्।

images

‘यदि मलाई नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु। कसरी जम्मा एक जनाले सिंगापुर बनाउन सक्छ? किन नेपालमा त्यस्तो दूरदर्शी नेता छैनन्?’

images
images

थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन्। लोभलाग्दा सफलता छन्। उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन्।

images
images
images

त्यसका लागि के गर्नुपर्ने हो?

पलायन नेपालमा सामाजिक रोग बनेको छ। यहाँका धेरैजसो युवाले हामी गरिब छौँ, हाम्रो जीवन राम्रो छैन। सरकारी जागिर खोज्ने वा विदेश जानुलाई जीवनको ठूलो उपलब्धि ठान्ने गरेकाे उनको भनाइ छ। ‘उनीहरूलाई साना व्यवसायमार्फत आत्मनिर्भर बनाउन सकिन्छ। ५० हजारदेखि १० लाखसम्मको पुँजी दिएर क्रमिक रूपमा सशक्त उद्यमी बनाउन सकिन्छ’ उने भने।

उनी सन् २०१८ देखि २०२३ सम्म झा नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत खरिद व्यवस्थापनमा जोडिएको सफ्टवेयर प्रणाली सञ्चालनसँग जोडिए। ‘मेरो कम्पनीले त्यहाँ पाँच वर्षसम्म काम गर्‍यो। ठूलो टोली थियो। तर पछि अर्को कम्पनीलाई काम दिइयो। अहिले सुनिरहेको छु, खरिदसँग सम्बन्धित अनलाइन प्रणाली फेरि अस्तव्यस्त छ’ उनले सुनाए।

नेपालको खरिद प्रक्रियालाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाले काम गरेको उनकाे भनाइ छ। तर उनकाे यो जना अस्थिरता र भ्रष्टाचारको कोपभाजनमा पर्‍यो। ‘नेपालमा न काम हुन्छ न भ्रष्टाचार रोकिन्छ। अरू देशमा पनि भ्रष्टाचार हुन्छ, तर कम्तीमा काम त हुन्छ। यहाँ त केवल भ्रष्टाचार हुन्छ, काम नै हुँदैन’ झाको यो कटु अनुभव हो।

यसको समाधानका लागि सबैभन्दा पहिले खराब कर्मचारी र विचौलियाबाट बचाउनुपर्ने उनकाे बुझाइ छ। अहिले भइरहेका धेरै काममा आसेपासेहरूले फाइदा उठाइरहेको उनको भनाइ थियो। नेपालमा झाका नराम्रा अनुभव मात्रै रहे। उनलाई लाग्छ, आलोचनात्मक राजनीतिक सोच राखेर इमान्दारीपूर्वक काम गर्ने र योग्य मान्छेहरू ल्याएर जिम्मेवारी दिने हैसियत अहिले नेपालको राजनीतिमा छैन।

नेपाल त्यसका लागि तयार पनि छैन। सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपालले धेरै गर्न सक्छ। तर त्यसका लागि व्यवसायीलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ। २० वर्षअघि भियतनाम कहाँ थियो र नेपाल कहाँ थियो? तर अहिले भियतनाम कहाँ पुग्यो? नेपाल किन रोकियो भन्ने कसैले प्रश्न उनको छ। 

राजनीतिक दूरदर्शिता भएको नेतृत्व नेपालले पाउन नसकेको उनको ठम्याइ छ। नागरिकमा पनि ‘यो मेरो देश हो’ भन्ने भावना नहुनु र देशलाई माया गर्ने भावना हराउनुलाई पनि उनले समस्याकै रुपमा देखेका छन्। ‘राष्ट्रको समृद्धिमा राजनीतिज्ञको ठूलो भूमिका हुन्छ’ उनले जोड दिएर भने।

कस्तो भूमिका?

मुलुकको समृद्धि भनेको दियोजस्तो हो । दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ। राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो।

उनले भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुलाई उदाहरण दिँदै भने, ‘एक नेताको भिजनले हैदरावादलाई आइटी हब बनायो। जब उनले हैदरावादलाई सूचना प्रविधिमा लैजान सुरू गरे, त्यसबेला कसैले हैदरावाद चिनेका थिएनन्। भारतमा बैंगलोर, चेन्नई, दिल्ली र मुम्बई मात्र चर्चामा थि । तर अहिले हैदरावाद कहाँ पुग्यो?’

उनलाई लाग्छ, यस्तै केही राजनीतिक दृष्टिकोण भएका नेताहरू र केही उद्यमीहरू मिलेर अघि बढ्न सके नतिजा देखिन्छ। ‘नेपालले सूचना प्रविधि, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रलाई प्राथमिकता दिएर पाँच/दश उद्यमी पहिचान गरेर भन्नुपर्छ, ‘हामी तिमीहरूलाई छुँदैनौँ, जाऊ, संसार जितेर आऊ, नेपालबाट केही बनाऊ, त्यसपछि हेरौँ, कस्तो नतिजा आउँछ’ झाको उत्साही निष्कर्ष थियो।

नेपाल अहिले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइरहेको छ। झाको विज्ञताको क्षेत्र पनि आईटी भएकाले यस क्षेत्रमा किन नजाने? जवाफमा उनले अर्को अनुभव सुनाए। ‘तपाईं नेपालको आइटी क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईंको सफलता फरक हुन्छ, त्यही व्यक्ति पटना (भारत) मा आइटी पेसामा भए अर्को हुन्छ’ उनले भने।

अहिले झा विद्युतीय सार्वजनिक खरिद (इप्रोक्युरमेन्ट) र बोलपत्र व्यवस्थापन गर्ने विश्वकै पुरानो र ठूलो कम्पनीमध्ये कम्पनी डिजिमार्केट इन्टरनेसनल इन्कको नेतृत्व गरिरहेका छन्। यो कम्पनीका ९ देशमा कार्यालय छन्। कतै एक जना मात्र कर्मचारी छन्, कतै तीन जना। भारतमा सबैभन्दा धेरै ८० हाराहारी कर्मचारी छन्। तर झाको सपना भनेको नेपालमै यसलाई विशाल बनाउने थियो।

किन यस्तो सफलता नेपालमै सम्भव भएन? क्यानडा नै किन जानुपर्यो? किन यस्तो सफलता नेपालमै बन्न सक्दैन? किन मानिसहरू विदेश गएर मात्रै राम्रो गर्छन्? यहाँ यो किन सम्भव भएको छैन? अनि विदेश गएर सफल भएका नेपालीहरूले फर्केर यहाँ आएर यस्तो बनाउन सक्छन् कि सक्दैनन्?

यसमा नेपालको राजनीतिक अस्थिरता, प्रशासनीक उल्झन, भनसुनको प्रवृत्ति मुख्य समस्याका रुपमा रहेको झाको बुझाइ छ। ‘म टोरन्टोमा बसेको मान्छे, मलाई थाहा छैन त्यहाँको प्रहरी कमिस्नर को हुन्। मलाई थाहा हुनु पनि पर्दैन। तर नेपालमा मानिसहरू गर्वका साथ भन्छन्, ‘म फलानो डिएसपीलाई चिन्छु, फलानो मन्त्री, फलानो जिल्लाको सिडिओलाई चिन्छु’ झाको जवाफ थियो।

भनसुन प्रवृत्ति नेपालको समस्या हो। अरु देशमा नागरिकलाई सबै नेताको नाम थाहा नहुन सक्छ। किनभने उनीहरूलाई थाहा हुनुपर्ने नै हुँदैन। ‘तपाईं आफ्नो काम गर्नुहोस्, त्यसैमा महत्व छ। यो नै सभ्य समाजको चिनारी हो’ उनले थपे।

हामी नेपाल सानो देश भन्छौँ । तर सिंगापुर पनि त सानो नै हो। युरोपका धेरै देश त नेपालभन्दा पनि साना छन्। तर तिनको विकासमा भूगोलले कहिले रोक लगाएन। समस्या हाम्रो सोचाइ र संरचनामा रहेकाे पिन आदित्य बताउँछन्।

सन् २००३ तिर झालाई व्यावसायिक सफलता मिलिरहेको बेला उनको मनमा एउटा सपना पलायो, ‘नेपालमा पनि आईआईटी जस्तो संस्था कसरी सुरू गर्न सकिएला?’ त्यो बेला भारतमा जम्मा चार/पाँच वटा मात्र आईआईटी थिए। अहिले त्यो संख्या निकै बढिसकेको छ।

‘तपाईँ इतिहास हेर्नुहोस्, अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वविद्यालयहरू पनि व्यापारीहरूको आर्थिक सहयोगबाट नै राम्रो बनेका हुन्। तर ती विश्वविद्यालय स्वतन्त्र थिए। व्यवसायीहरूले पैसा त दिए, तर चलाउने उनीहरूले होइन’ उनले सम्झिए।

झाले नेपालका विद्यालयहरूलाई सहयोग गर्ने चाहना राखेका थिए। तर नेपालमा अवस्था फरक छ। ‘कुनै ट्रस्ट बनाइयो भनेर नाफारहित त भनिन्छ, तर नाफा चाहिँ व्यक्तिको खल्तीमा जान्छ। अस्पताल ट्रस्टको नाममा खोलिन्छ, तर पैसा घुमाएर उनीहरूकै खल्तीमा। यो प्रवृत्ति नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामा उस्तै छ’ उनले गुनासो गरे।

नेपालमा काम गर्दा उनका अनुभव खासै राम्रो रहेनन्। ‘जब मैले राम्रो पैसा कमाएँ, तब लाग्यो किन काठमाडौं वा नेपालमा एउटा आईआईटी जस्तो संस्था हुँदैन’ उनले दुई दशक अघिको प्रयास सम्झिए।

नेपालमा करिब एक अर्ब लगानी गरेर एउटा इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने। व्यवसाय वा नाफाका लागि होइन, सरकारी मापदण्डमा चल्ने तर प्राइभेट हार्वर्ड, एमआइटी जस्तै।

‘म करिब एक वर्षसम्म त्यसमा लागेँ। क्यानडाबाट मान्छे झिकाएँ। तर म असफल भएँ। त्यो बेला म अलि अनुभवहीन थिएँ। आजको दिनमा गर्ने भए अर्कै शैलीमा गर्थेँ। किनकि अहिले मैले नेपाललाई धेरै बुझिसकेको छु’ झाले अनुभव सुनाए। त्यो प्रोजेक्ट व्यावसायिक फाइदाको लागि थिएन भन्ने बुझाउन सकिएन कि जस्तो लाग्छ झालाई।

दोस्रो अनुभव पनि उस्तै

अमेरिकामा बस्ने झाका एकजना प्रोफेसर साथी आएर भने ‘आदित्यजी, तपाईंले काठमाडौंका स्कुलमा कम्प्युटर बाँड्नका लागि पैसा दिनुपर्छ।’ झाले सोधने ‘कति चाहिन्छ ?’ साथीले भने  ‘१० वटा स्कुलका लागि डेस्कटप।’ सायद झाले करिब १० हजार डलर दिए।

केही महिनापछि थाहा भयो कम्प्युटर स्कुलमा त पुगेछन्, तर चल्दैनन्। भएछ के भने, झाले विश्वास गरेको व्यक्ति नेपालका एक मन्त्रीका भतिजा रहेछन्। उनीहरूले नयाँ कम्प्युटर किन्नुपर्नेमा पुराना किने। ढुवानीमा धेरै पैसा खर्च गरे। अनि ती कम्प्युटर स्कुलमा राखिदिए।

यो कुरा झालाई थाहा भएपछि झाले आफ्नो साथीलाई त्यो प्रोजेक्टबाट आफ्नो नाम हटाउन भने। यो प्रयास पनि असफल भयो।

तेस्रो अनुभव

कसैले उनलाई सुनाए, ‘तपाईं त तराईको मान्छे, जनकपुरका स्कुललाई सहयोग गर्नुस्।’ त्यसबेला अमेरिकामा ‘वन ल्यापटप पर चाइल्ड’ नामको प्रोजेक्ट चलिरहेको थियो। त्यो अवधारणा नेपालमा पनि लागु गर्न सकिने सोच बनाएर एक सय थान कम्प्युटर किनेर उनले जनकपुर पठाए।

धेरै दुःख गरेर रेलमा सीतामढी हुँदै ल्याएर भन्सार तिरी ती कम्युटर जनकपुर आइपुगे। तर स्कुलमा कम्युटर ल्याब बनाउन अझै पूर्वाधार तयार थिएन। केही समयका लागि ती कम्प्युटर जिल्ला प्रशासनको रोहवरमा एउटा कोठामा राखियो, ताला लगाइयो, सिल गरियो।

तर केही महिनापछि झालाई फोन आयो, ‘आधा कम्प्युटर हरायो।’ झाले सोधे, ‘तपाईंले सिल गर्नुभएको थिएन?’ जवाफ आयो ’ ‘सिल छ, ताला छ, तर ल्यापटप छैन।’ त्यसपछि बाँकी कम्प्युटर स्कुललाई दिइयो। केही समयपछि फेरि फोन आयो’ ‘स्कुलबाट फेरि २५ वटा कम्प्युटर हरायो। अब के गर्ने?’

झाले भने, ‘अब मलाई मतलब छैन। जेसुकै गर।’नेपालमा यति धेरै असफलता भोगेपछि झाले आफ्नो परोपकारी कामलाई क्यानडामै केन्द्रित गरेका हुन्। अहिले उनको नामबाट तीन विश्वविद्यालय र दुई कलेजमा १४ वटा अक्षयकोष स्थापना छन्।

टोरन्टो मेट्रोपोलिसन युनिभर्सिटी, योर्क युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, जर्ज ब्राउन कलेज, सेन्टेनियल कलेजमा झाका अक्षयकोषबाट करिब ७० हजार क्यानाडियन डलर बराबरको छात्रवृत्ति हरेक वर्ष वितरण हुन्छ। २० भन्दा बढी विद्यार्थी लाभान्वित हुन्छन्।

उनको लक्ष्य यो बढाएर डेढ करोड क्यानाडियन डलरसम्म पुर्‍याउने छ। साथै क्यानाडाका आदिवासी (अबोरिजिनल) समुदायलाई पनि उद्यमशील बनाउन खटिरहेका छन्। यद्यपि अहिले पनि झाका मनमा एउटा ठूलो सपना बाँकी छ। नेपाल र बिहारका साना उद्यमीलाई सहयोग गर्ने।

यस पटक भने उनको ध्यान ‘आईटी’ वा शिक्षा क्षेत्रमा छैन, उद्यमशीलतामा छ। ‘नेपालमा झण्डै एक हजारदेखि पाँच हजारसम्म र त्यति नै संख्यामा विहारमा पनि साना उद्यम सिर्जना गर्न चाहन्छु’ उनले भने।

गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी पसल, सैलुनजस्ता साना स्वरोजगारमूलक व्यवसायमा मानिसहरूलाई कसरी लगानी गर्ने, व्यवसाय चलाउने र पुँजी जोगाउने भनेर सिकाउने उनको मुख्य ध्येय हो।

५० जिल्लामा पुगेर हरेक जिल्लामा कम्तीमा २०/२५ जनालाई व्यवसाय गराउन सक्याे भने त्यसको प्रभाव निश्चित रूपमा देखिनेमा उनी विश्वस्त छन्। उनको टोलीले उद्यम कसरी गर्ने र नाफामा कसरी लैजाने भनेर सिकाउँछ।

‘यही मेरो अन्तिम सपना परियोजना हुनेछ। यही मेरो पूजा हुनेछ। यही पशुपति, काशी र केदारनाथ हुनेछ’ उनले भने। झालाई नेपालमा शिक्षाभन्दा उद्यमशीलता अझ धेरै प्राथमिकताको विषय हो भन्ने लाग्छ। रासस


प्रकाशित : शनिबार, साउन २४ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend