शुक्रबार, साउन २३ गते २०८२    
शुक्रबार, साउन २३ २०८२
images
images

प्रांगारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश

images
शुक्रबार, साउन २३ २०८२
images
images
प्रांगारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश
फाइल तस्बिर

कर्णाली प्रदेश सरकारले २०७५ सालदेखि प्रांगारिक प्रदेश निर्माणका लागि लिएको अभियानअन्तर्गत प्रांगारिक खेती प्रवर्द्धनलाई विशेष जोड दिइएको हो।

images
images

कर्णाली- माटो, वातावरण, जलवायु, खेती प्रणाली र उत्पादित कृषिउपजका दृष्टिले कर्णालीलाई प्रांगारिक प्रदेशका रूपमा अगाडि बढाएको छ। कर्णाली प्रदेश सरकारले २०७५ सालदेखि प्रांगारिक प्रदेश निर्माणका लागि लिएको अभियानअन्तर्गत प्रांगारिक खेती प्रवर्द्धनलाई विशेष जोड दिइएको हो।

images

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला सात वर्षदेखि प्रांगारिक कृषि प्रवर्द्धनका लागि अनुदानमा जैविक सामग्री वितरण, प्रयोगशालामा जैविक कीटनाशक उत्पादन र रासायनिक कीटनाशकका नकारात्मक असरबारे जनचेतना फैलाउने कामका साथै कृषक पाठशालाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रांगारिक खेतीमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको कृषिमन्त्री विनोदकुमार शाहले बताए।

images
images

उनका अनुसार प्रदेशको प्रांगारिक खेतीको उत्पादनमा वृद्धि, जनशक्ति उत्पादन, बजारीकरण र त्यसको दिगोपनसम्बन्धी पाँचदिने अन्तर्राष्ट्रियस्तरको प्रांगारिक खेतीसम्बन्धी तालिम आज सम्पन्न भएको छ। खाद्य तथा कृषि संगठन (एफएओ) सँगको सहकार्यमा काठमाडौंस्थित रोयल थाई दूतावासद्वारा सुर्खेत वीरेन्द्रनगरमा साउन १८ गतेदेखि सञ्चालित तालिम उपलब्धिमूलक हुने उनको भनाइ थियो।

images
images
images

तालिम समापन कार्यक्रममा थाइ मन्त्रीका सल्लाहकार एवं मिसनका निमित्त प्रमुख मनसुभी मनासाकुलले पहिलोपटक थाई सरकार, एफएओ र नेपाल सरकारको सहकार्यमा नेपालमा प्रांगारिक खेतीसम्बन्धी गरिएको तालिमले नेपाल र थाइल्यान्डबीचको मित्रता र सहकार्य महत्त्वपूर्ण कडी बन्ने बताए। उनले थाइ राजदूतावासको तर्फबाट कर्णाली प्रदेश, कृषि विशेषज्ञ तथा साझेदारहरूसँग सहकार्य गर्न पाउँदा सम्मानको अनुभव भएको उल्लेख गरे।

उनले भने, 'अर्गानिक खेतीले दिगो भविष्यतर्फको बाटो देखाउँछ। यसले खाद्य सुरक्षा मजबुत पार्नुका साथै स्थानीय जीविकोपार्जनलाई सहयोग गर्छ। वातावरणसँगको सद्भावले दिगो अभ्यासलाई पनि प्रवर्द्धन गर्छ। हामी आशा गर्छौँ कि यो तालिमबाट प्राप्त ज्ञान, अभ्यास र प्रांगारिक उत्पादनमा प्राप्त उच्च अनुभवले यहाँहरूलाई थप सक्षम बनाउनेछ।'

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहले तालिमबाट प्राप्त ज्ञान सीपले कर्णालीको प्रांगारिक कृषि प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। 'नेपाल सरकार र थाइ सरकारको संयुक्त प्रयासमा प्रांगारिक कृषि प्रवर्द्धनका लागि भएको पहल मननयोग्य छ। थाइल्यान्डको कृषि र कृषिउपजको प्रशोधन र गुणस्तर कायम संसारमा अनुकरणीय भएको देखिन्छ', उनले भने।

मन्त्री शाहले कर्मचारीहरूलाई अन्तर्राष्ट्रियस्तरको तालिममा सहभागी गराउन कठिन भएकाले यस तालिमबाट सातजना विज्ञहरु नै कर्णालीमा आएर प्रशिक्षण गराउँदा एक उपलब्धिमूलक र सबैको ज्ञान सीपमा क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिए। उनका अनुसार सैद्धान्तिक र व्यावहारिक ज्ञानको प्रयोग नै यो प्रशिक्षण कार्यको महत्त्वपूर्ण पाटो बन्यो।

मन्त्री शाहले तालिमबाट प्रांगारिक प्रविधिमा थाइ सरकारले लिएको नीति तथा कार्यक्रमका बारेमा जानकारी, कृषि उपजमा गरिने प्रशोधन र बजारीकरणबारे जानकारी दिनु प्रसंशायोग्य भएको बताउँदै थाइ राजदूतावासका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरे। तालिमले सहभागीहरूको क्षमता अभिवृद्धिमा योगदान पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि दुई देशबीच कृषि क्षेत्रको विकासका लागि सहयोग र समन्वय हुनेमा उनले विश्वास व्यक्त गरे।

प्रांगारिक प्रदेश निर्माणको अभियानलाई सहयोग पुगोस् भन्ने ध्येयका साथ मन्त्रालयले जैविक कृषि प्रवर्द्धनका लागि विशेष ऐन र नियमहरू ल्याएकाले थाइल्याण्डबाट सिकेको दिगो कृषि प्रणालीका उत्कृष्ट अभ्याससम्बन्धी सीप र ज्ञान अझ बढी लाभदायी हुने जनाइएको छ। उक्त पाँचदिने तालिममा कर्मचारी, कृषक, व्यापारी र एग्रोभेटका सञ्चालकहरूको सहभागिता रहेको थियो। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend