आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ, लाभांश क्षमता १३.२२ प्रतिशत

शुक्रबार, साउन २३ २०८२
सिद्धार्थ बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ, लाभांश क्षमता १३.२२ प्रतिशत

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जसमा ६.४३ प्रतिशतको वृद्धि भएको हो।

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि गरेको जनाएको छ। 

विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा अर्थात् २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

बैंकले डिबेन्चर रिडेम्सन रिजर्भका लागि १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ। अघिल्लो वर्ष सोही अवधिसम्म वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो।

समीक्षा अवधिमा बैंकको समग्र मुनाफा १०.२४ प्रतिशतले बढ्दै ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ३ अर्ब ८ करोड रुपैयाँ थियो। बैंकले कम जोखिमयुक्त कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ, जसका कारण खराब कर्जा २.६२ प्रतिशतमा सीमित रहन सफल भएको छ।

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जसमा ६.४३ प्रतिशतको वृद्धि भएको हो। सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धि भइ कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष बैंकले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको थियो। यस अवधिमा निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भइ २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। वार्षिक रुपमा निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँ वृद्धि भएको हो।

बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ र जगेडा कोष १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। थोरै पुँजीकोषका बाबजुद व्यवसायमा सन्तुलित विस्तार भएको बैंकले जनाएको छ।

असार मसान्तसम्म प्रतिसेयर आम्दानी २४ रुपैयाँ १० पैसा, वितरणयोग्य आम्दानीमा आधारित १३ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २३ रुपैयाँ ६१ पैसा बढी हो। मूल्य-आम्दानी अनुपात १५.९३, पुँजीकोष अनुपात ११.७७ प्रतिशत र कर्जा-निक्षेप अनुपात ७६.९२ प्रतिशत कायम भएको छ।

आधार ब्याजदर गत वर्षको तुलनामा १.६९ प्रतिशत बिन्दुले घट्दै ६.४२ प्रतिशतमा पुगेको छ भने स्प्रेडदर ३.९८ प्रतिशत कायम छ। बैंकका अनुसार आर्थिक गतिविधि कम हुनु र ऋणीको भुक्तानी क्षमतामा आएको कमीका कारण खराब कर्जा सामान्य वृद्धि भएको हो।


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend