विराटनगर- कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार दुईसय ६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार दुईसय २१ मेट्रिक टन वर्खे धानबाली उत्पादन भएको छ।
कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल सात लाख १३ हजार तीनसय ३३ हेक्टर जग्गा खेतीयोग्य छ।
सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जग्गामा बाली लगाउन किसानले सकिरहेका छैनन्। चार दशमलव २९ मेट्रिक टन उत्पादकत्व रहेको धानबाली अघिल्लो वर्षको तुलनामा एक दशमलव ९७ प्रतिशत बढी क्षेत्रमा लगाइएको थियो भने उत्पादन पनि तीन दशमलव १९ प्रतिशत बढी भएको हो।
निर्देशनालयका अनुसार सो अवधिमा ४३ हजार आठसय ६८ हेक्टर जग्गामा चैते धान दुई लाख ३८ हजार तीनसय ८ मेट्रिक टन, मकै दुई लाख ७७ हजार तीनसय ६६ हेक्टर जग्गामा ११ लाख ६६ हजार एकसय ४८ मेट्रिक टन, कोदो ५७ हजार दुईसय ७४ हेक्टर जग्गामा ८५ हजार ९ सय ७२ मेट्रिक टन उत्पादन भएको छ।
त्यस्तै गहुँ ५१ हजार ६ सय ३५ हेक्टर जग्गामा एक लाख ३७ हजार सातसय ३० मेट्रिक टन, फापर दुई हजार आठसय ९६ हेक्टर जग्गामा चार हजार सातसय ७५ मेट्रिक टन र जौ ९ सय ८६ हेक्टर जग्गामा एक हजार दुईसय ८५ मेट्रिक टन उत्पादन भएको हो।
सो अवधिमा सुन्तला आठ हजार एकसय ७ हेक्टर जग्गामा ६४ हजार आठसय २४ मेट्रिक टन र हिउँदे फलफूल दुई हजार आठसय ७३ हेक्टर जग्गामा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको थियो। सुन्तलाको उत्पादकत्व आठ मेट्रिक टन र हिउँदे फलफूलको उत्पादकत्व सात दशमलव ३२ मेट्रिक टन रहेको निर्देशनलायको भनाइ छ।
प्रदेशमा आव २०८१/८२ मा दलहन बाली ३५ हजार एकसय ३२ हेक्टर जग्गामा ४० हजार ९ सय ३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६ सय ८१ हेक्टर जग्गामा ५१ हजार पाँचसय १५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिए।
उनका अनुसार आलु ६६ हजार तीनसय ९९ हेक्टर जग्गामा १० लाख ८७ हजार चारसय ११ मेट्रिक टन, अलैँची १४ हजार एकसय ९१ हेक्टर जग्गामा सात हजार एकसय ५० मेट्रिक टन, उखु पाँच हजार ९ सय ३२ हेक्टर जग्गामा तीन लाख ४२ हजार दुईसय ८५ मेट्रिक टन, च्याउ छ हजार एकसय २१ मेट्रिक टन उत्पादन भएको हो।
उनले आलु र उखुको उत्पादन बढे पनि अलैँचीको उत्पादन पाँच दशमलव सात प्रतिशतले कमी भएको जानकारी दिँदै सरदर प्रदेशमा एक व्यक्ति एकसय ९१ केजी खाद्यान्न आवश्यकतालाई पूरा भएकाे बताए। साथै सो अवधिमा ६ लाख ९७ हजार तीनसय ५५ मेट्रिक टन बचत भई खाद्यान्नमा आत्मनिर्भर भएको उनको भनाइ छ। रासस