काठमाडौं- उतारचढावबीच यो साता लगातारजसो घटिरहेको सेयर बजार बुधबार स्थिर देखिएको छ। बुधबार बजार १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा ओर्लिएको छ।
११२ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ६३ करोड १३ लाख रूपैयाँको कारोबार भएको छ। आज १३८ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।
गएको साता समग्रमा ५९.५८ अंकले घटेको सेयर बजारमा यो साता पनि ओरालो गति नै बढी देखिएको छ। आइतबार ६३.७३ अंकले घटेर सोमबार १६.४६ अंकले बढेको बजार मंगलबार पनि पुन: ४१.७८ अंकले घटेको थियो।
मंगलबार ९ अर्ब ३३ करोडको कारोबार भएकामा बुधबार पनि बजार घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साता मंगलबार ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।
लगातार उचाइको लय देखाइरहेको बजार अहिले केही घट्दैमा अत्तालिनु नपर्ने विश्लेषकहरू बताउँछन्। बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेकाले यसपटक नयाँ उचाइ भेट्ने उनीहरूको आकलन छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे। अहिले पुन: बजार पर्ख र हेरको अवस्थामा देखिन्छ।