काठमाडौं- उडानमा प्रयोग भएका तीनवटै जहाज दुर्घटनापछि आर्थिक संकटकै कारण बन्द भएको मकालु एयरले पुन: 'डाँफे एयर'को नाममा नेपाली आकाशमा उडानको तयारी गरेको छ।
डाँफे एभिएसन कर्पोरेशन प्रालिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट २०८० माघ २४ गते मकालु एयरको नाम परिर्वतन गरी इजाजत नवीकरण गरेको थियो।
सन् २००९ मा स्थापन भएको मकालु एयरले तीनवटा जहाजबाट आन्तरिक उडानमा प्रवेश गरेको थियो। सुर्खेत बेस बनाएर उडान गरेको मकालु एयरको उडान अनुमतिपत्र २०२० मा नै खारेज भएको थियो। एओसी निलम्बन भने २०१८ मेमा नै भएको थियो।
तीनवटा जहाजमध्ये अन्तिम जहाज २०१८ को मे १६ मा सिमिकोटमा दुर्घटना भएसँगै मकालु एयर बन्द थियो। तीनवटै जहाज कार्गो उडानका क्रममा दुर्घटना भएको थियो।
मकालुको तीनमध्ये पहिलो जहाज २०११ को नोभेम्बरमा ताल्चा विमानस्थलमा दुर्घटना भएको थियो। दोस्रो जहाज २०१६ को अप्रिल ८ र तेस्रो जहाज २०१८ मे १६ मा दुर्घटना भएको थियो। दुर्घटनापछि एयरलाइन्स उडानमा फर्कन सकेन।
अहिले पुनः मकालु एयरको नाम 'डाँफे एयर'मा परिवर्तन भएर आउन लागेको हो। डाँफै एयरले अहिले एओसीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रियागत काम गरिरहेको छ। प्राधिकरणमा डाँफेले पेस गरेको व्यावसायिक योजना स्वीकृत भइसकेको छ। प्राधिकरण स्रोतका अनुसार 'प्रि-एप्लिकेसन' र 'एप्लिकेसन' चरण पार गरिसकेको छ।
अहिले डाँफे एयरको 'डकुमेन्टेसन' चरणका काम चलिरहेको छ। अब थप दुईवटा चरण बाँकी छ। तेस्रो चरण पार गरेपछि प्राधिकरणले उसलाई जहाज ल्याउन अनुमति दिन्छ। जहाज ल्याएपछि प्राविधिक परीक्षण गरेर एओसी दिने छ। त्यसपछि मात्रै पुरानो मकालु एयर अब डाँफे एयरका नाममा नेपाली आकाशमा उडान गर्न पाउने छ।
डाँफेले एटीआर जहाजमार्फत उडान गर्नेगरी पेस गरेको व्यावसायिक योजना स्वीकृत भएको हो। डाँफे एयरले प्राधिकरणले तोकेको बेसलाई आधार बनाएर काठमाडौंबाट माउन्टेन उडानदेखि नेपालगञ्ज, सुर्खेत, पोखरा, विराटनगर, भद्रपुर, सिमरा, धनगढी, जनकपुर, भरतपुर, भैरहवा र तुम्लिङटारलगायतका गन्तव्यमा उडान गर्ने योजना बनाएको छ।
तर उसको व्यावसायिक योजनामा केही अस्पष्टता रहेको छ। अस्पष्टतालाई पूरा गर्ने सर्तमा प्राधिकरणले योजना स्वीकृत गरेको छ। उसले अब प्राधिकरणले व्यावसायिक योजना स्वीकृत गर्दै उठाएको प्रश्न डकुमेन्टेसनको चरणमा नै पूरा गर्नु पर्छ।
व्यावसायिक योजनामा देखिएको अस्पष्टता
प्राधिकरणले व्यावसायिक योजना स्वीकृत गर्दैगर्दा सबैभन्दा पहिले कम्पनीको जारी पुँजीको विषयमा प्रश्न उठाएको छ। डाँफेले प्राधिकरणलाई बुझाएको डकुमेन्टमा २५ करोडको चुक्ता पुँजीको कम्पनी भएपनि जारी पुँजी १५ करोड रुपैयाँमात्रै छ।
यद्यपि पहिलो वर्षको वित्तीय प्रक्षेपणले ८० करोड चुक्ता पुँजी प्रतिबिम्बित गर्दछ। १५ करोड र ८० करोड बीचको खाडल परिपूर्ति हुने विश्वासिलो आधार नदेखिएको विषय प्राधिकरणले देखाएको छ।
उडान सुरु गरेको पाँच वर्षभित्र पाँचवटा जहाज अनिवार्य हुनुपर्ने छ। तर कम्पनीले १० वर्षको सम्भाव्यता अध्ययनमा तीनवटा जहाजमात्रै उल्लेख गरेको छ।
डाँफेले तीनवटा एटीआर जहाज भित्र्याउन २५.५ मिलियन डलर लागत राखेको छ। तर यो मूल्य बजारअनुरुप छैन। डाँफे आफैले सुरुवाती चरणमा बुझाएको डकुमेन्ठमा एउटै जहाजको १२.५ मिलियन डलर राखेको थियो। उसले जहाजको मूल्य परिवर्तनमा कुनै चित्तबुझदो जवाफ दिएको छैन।
कम्पनीको कुल लगानी ३ अर्ब ९७ करोड हुने र त्यसमा ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट उठाउने जनाएको छ।
कम्पनीले ऋणको ब्याज ९.५ प्रतिशत सरदर राखेको छ। तर कम्पनीले ऋण लिन धितो स्पष्ट खुलाएको छैन। जुन शंकाको घेरामा छ। उसले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जाको लागि आशयपत्रसमेत लिन सकेको छैन।
कम्पनीको लगानी रकमको विषयमा अन्योल नै छ। जसका कारण उसको व्यावसायिक योजना लक्ष्यअनुसार हुन सक्दैन। कम्पनीले ३८ प्रतिशत ग्रस प्रोफिट राखेको छ। जुन नेपालको नागरिक उड्डयन इतिहासलाईलाई हेर्दा सम्भव छैन।
लगानीकर्ता
डाँफे एभिएशन कर्पोरेशन प्रालि कम्पनी दर्ता हुँदा सञ्चालकमा ललितपुर महालक्ष्मी नगरपालिकाका राजु कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १७ की सञ्जु श्रेष्ठ, काठमाडौं महानगरपालिका १५ का अभिशेषमान श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नम्बर १० की सुमना कंडेल रहने उल्लेख छ।
कसको कति सेयर?
उद्योग विभागमा २०६६ कात्तिम ११ मा भएको उद्योग दर्ताअनुसार (साविकको मकालु एयर) कम्पनीको कूल पुँजी २५ करोड, स्थिर पुँजी २२ करोड ५० लाख र चालु पुँजी २ करोड ५० लाख रुपैयाँ उल्लेख रहेको छ।
जसमा प्रतिकित्ता एक सय रुपैयाँको दरमा राजुकुमार श्रेष्ठको ५ लाख कित्ता, सञ्जु श्रेष्ठको ॐ३ लाख ५० हजार कित्ता, अभिशेषमानको १ लाख ५० हजार कित्ता, सुमना कंडेलको ५ लाख कित्ता सेयर राखिएको छ।