मंगलबार, साउन २० गते २०८२    
मंगलबार, साउन २० २०८२
images
images

पर्वतमा पर्यटनसम्बन्धी १११ वटा पूर्वाधार आयोजनाका लागि चार करोड विनियोजन

images
मंगलबार, साउन २० २०८२
images
images
पर्वतमा पर्यटनसम्बन्धी १११ वटा पूर्वाधार आयोजनाका लागि चार करोड विनियोजन

कुश्मा नगरपालिकामा सबैभन्दा बढी २९ वटा आयोजना थपिने छ। सबै आयोजना अल्पकालीन भएकाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी कार्यान्वयनको तयारी भइरहेको बताइएको छ।

images
images

पर्वत- पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एकसय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ।

images

गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सातवटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा चार करोड ११ लाख रूपैयाँ बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो।

images
images

जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भक्तजन तथा पर्यटकको थप आकर्षणका लागि पूर्वाधार थप गर्न थालिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ। जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढी २९ वटा आयोजना थपिने कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए।

images
images
images

उनका अनुसार फलेबास नगरपालिकामा २६, मोदी गाउँपालिकामा १३, जलजला गाउँपलिकामा पाँच, पैँयु गाउँपालिकामा १७, विहादी गाउँपालिकामा ११ र बाँकी महाशिला गाउँपालिकामा आयोजना कार्यान्वयन गर्न थालिएको हो।

पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रंगरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माण, घरबास सुधारलगायत संरचना बनाइने भएको प्रमुख शर्माले बताए। पछिल्लो समय साहसिक पर्यटनको केन्द्र बन्दै गएको जिल्ला सदरमुकाम कुश्मा बजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थलमा पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार थप गर्न लागिएको उनको भनाइ छ।

शर्माका अनुसार कुश्मा नगरपालिकामा एक करोड ६० लाख, फलेवास नगरपालिकामा एक करोड ४० लाख, मोदीमा ६५ लाख, जलजलामा २५ लाख, पैँयु गाउँपालिकामा एक करोड, महाशिलामा ५५ लाख र विहादी गाउँपालिकामा ५५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ। सबै आयोजना अल्पकालीन भएकाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी कार्यान्वयनको तयारी भइरहेको उनले जानकारी दिए।

पर्वतका सातवटै पालिकामा गरी ६१ वटा घरबास सेवा सञ्चालनमा रहेका छन् भने दुई वटा निजी घरबाससमेत सञ्चालनमा रहेको कार्यालय प्रमुख शर्माले बताए। पर्यटकीय पूर्वाधारले घरबासमा आउने पर्यटकलाई सुविधा पुग्नुका साथै थप आकर्षण थप्ने विश्वास कार्यालयले लिएको छ। पछिल्ला केही वर्षयता पर्वत साहसिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

सदरमुकाम कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी, स्विङ, विश्वकै लामो सुपरम्यान शैलीको जिपलाइन, र्‍याफ्टिङ, क्यानोनिङलगायत स्थानमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य र घरबाससम्म पुर्‍याउनका लागि पनि नयाँ थपिने पूर्वाधारले आकर्षित गर्ने कार्यालय प्रमुख शर्माले बताए।

जिल्लामा पर्यटकीय सिजनमा दैनिक सयौँको संख्यामा बाह्य पर्यटक र दैनिकजसो भित्रिने आन्तरिक पर्यटकको संख्या उल्लेख्यमात्रामा रहे पनि पर्यटन सूचना केन्द्र नहुँदा तथ्यांक राख्न समस्या भएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ।

जिल्लामा भित्रिने पर्यटकको वार्षिक तथ्यांक नहुँदा थप योजना निर्माणमा समस्या भएको कार्यालय प्रमुख शर्माले बताए। गण्डकी प्रदेश सरकारमार्फत गत आर्थिक वर्षमा ४२ वटा आयोजना कार्यान्वयन गरिएको थियो। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend