आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

४१ अर्बको माथिल्लो सेती आयोजना : कुमारी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन पूरा

images
आइतबार, साउन १८ २०८२
images
images
४१ अर्बको माथिल्लो सेती आयोजना : कुमारी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन पूरा

अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित आयोजनाले वार्षिक १ हजार २२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्नेछ।

images
images

काठमाडौं- सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। कुमारी बैंकको नेतृत्वमा र एनएमबी बैंकको सहनेतृत्वमा कुल १८ वित्तीय संस्थाको सहभागितामा ऋण व्यवस्थापनको प्रक्रिया टुंगिएको हो।

images

बझाङको साइपाल गाउँपालिका-४ र ५ मा निर्माण हुने यो आयोजना समृद्धि इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको हो। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कुमारी बैंक र प्रवर्द्धक कम्पनीबीच वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जीका अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका हुन्।

images
images

कुल अनुमानित लागत ४१ अर्ब ६० करोड रूपैयाँ रहेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीको अनुपातमा निर्माण गरिनेछ। यसका लागि कुमारी बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, हाइड्रो-इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्सले सहवित्तीय व्यवस्थापन गरेका छन्।

images
images
images

आयोजनाले साउन १९, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ भने ३१ बैशाख २०८१ मा विद्युत् उत्पादन अनुमति प्राप्त गरेको छ। आयोजनाले पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गरी ३१ असार २०८८ भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित आयोजनाले वार्षिक १ हजार २२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्नेछ। वर्षायाममा ८३४.४९ गिगावाट घण्टा र सुक्खायाममा ३९५.११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ। ४.५ घण्टासम्मको पिकिङ क्षमता रहने आयोजना ३४.१ घनमिटर प्रतिसेकेन्डको डिजाइन डिस्चार्जमा आधारित छ। ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर तोकिएको छ।

सुक्खायाममा पिक इनर्जीको विद्युत् दर प्रतियुनिट १० रूपैयाँ ५५ पैसा र नन पिक इनर्जीको दर ८ रूपैयाँ ४० पैसा निर्धारण गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० केभी स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। यो लाइन राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभी बझाङ सबस्टेसनमा मिसिनेछ।

पर्यावरणीय सन्तुलनका लागि बाँधभन्दा तल वर्षभरि १.४१ घनमिटर प्रतिसेकेन्ड पानी जैविक बहावका रूपमा सेती नदीमा निरन्तर छाडिनेछ। २५ किलोमिटर लामो पहुँच सडक निर्माण गरिने आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड २५ लाख रूपैयाँ रहनेछ। आयोजना सञ्चालनको पहिलो वर्षमै ७ अर्ब ६७ करोड रूपैयाँको आम्दानी हुने अपेक्षा गरिएको छ।


प्रकाशित : आइतबार, साउन १८ २०८२१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend