काठमाडौं- गएको साता ५९ अंकले घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन पनि ओरालोतर्फै लागेको छ।
आइतबार बजार ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा आइपुग्दा १३ अर्ब ७ करोड ५० लाख रूपैयाँको कारोबार भएको छ। आज १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य भने घटेको छ।
अघिल्लो साता आइतबार १८.४५ अंकले घटेको बजार सोमबार ७.१० अंकले बढेको थियो। मंगलबार ३०.७६ अंकले बढेको बजार बुधबार ४७.९४ अंकले घटेकोमा बिहीबार पनि बजार ओरालोतिरै लाग्दा ३१.०५ अंकको गिरावट आएको थियो।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गतसाता मंगलबार ३००२.०८ बिन्दुसम्म पुगेको थियो। लगातार उचाइको लय देखाइरहेको बजार पछिल्लो केही दिनयता भने निरन्तर घटिरहेको छ।
गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भए पनि उतारचढावकै अवस्था देखिन्छ।