आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

मालिकाका तीन ठूला आयोजना अधुरै, समयमा सम्पन्न नहुँदा बजेटको दायित्व बढ्यो

images
आइतबार, साउन १८ २०८२
images
images
मालिकाका तीन ठूला आयोजना अधुरै, समयमा सम्पन्न नहुँदा बजेटको दायित्व बढ्यो

चार वर्ष पुरानो दरवाङ-निस्कोटमात्र नभएर मालिका गाउँपालिकाले गत आवमा ठेक्कामार्फत सञ्चालन गरेका तीनवटा आयोजना अधुरा छन् भने एउटाको काम सुरु नभइ ठेक्का तोडिएको छ।

images
images

म्याग्दी- मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन गरेका चारमध्ये तीनवटा आयोजना अधुरा छन्। एउटा आयोजनाको काम नै सुरु नभइ ठेक्का तोडिएको हो।

images

६ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित मालिकाको केन्द्र दरवाङबाट मालिका-१ को वडा कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ मा ठेक्का सम्झौता भइ काम सुरु भएकामा अझै सकिएको छैन।

images
images

विसं २०७८ माघ ७ गते जीके/आईएसएसी जेभीसँग ठेक्का सम्झौता भएको आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ७० प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ।

images
images
images

गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले एक करोड २९ लाख रूपैयाँ भुक्तानी भएको आयोजनाको छैठौँपटक थपिएको म्याद आगामी पुसमा सकिने जानकारी दिए।

'तीन करोड ३१ लाख ९९ हजार नौसय ९९ रूपैयाँ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको कम्पनीसँग सम्झौता भएको थियो', उनले भने, 'अहिले थपिएको समयभित्र पनि काम नसके कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ।'

चार वर्ष पुरानो दरवाङ-निस्कोटमात्र नभएर मालिका गाउँपालिकाले गत आवमा ठेक्कामार्फत सञ्चालन गरेका तीनवटा आयोजना अधुरा छन् भने एउटाको काम सुरु नभइ ठेक्का तोडिएको छ।

एक करोड रूपैयाँ बजेट विनियोजन भएको निस्कोट-ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का सम्झौतामा वनसम्बन्धी मुद्दा परेपछि तोड्नु परेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।

'जग्गा खरिदका लागि विनियोजन गरिएको एक करोड रूपैयाँ बजेट पनि दुःख दिने र अल्झाउने नियतले अख्तियारमा परेको मुद्दाका कारण कार्यान्वयन हुन सकेको छैन', उनले भने, 'मुद्दा मामिला, उजुरीसँगै छनोट भएका ठेकेदारले पनि साथ नदिँदा गतवर्ष पुँजीगत शीर्षकमा विनियोजन भएको १८ करोड रूपैयाँमध्ये ५२ प्रतिशत मात्र खर्च भएको छ।'

गत आर्थिक वर्षमा ओमेन अस्कर निर्माण सेवासँग ठेक्का सम्झौता भएको दुखुबेँसी सिँचाइ आयोजना सम्पन्न भएको छ। ४० लाख रूपैयाँ लागत अनुमान र करसहित २८ लाख २९ हजार एकसय ४५ रूपैयाँमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको ९० दशमलव ३६ प्रतिशत खर्च भएको आयोजना कार्यालयले जनाएको छ। मालिका-६ मा रहेको दुखुवेँशी सिँचाइ आयोजनाको मुहानमा बाँध र ४३ मिटर पक्की नहर निर्माण भएको अध्यक्ष गर्बुजाले जानकारी दिए। 

उनका अनुसार चट्टान निर्माण सेवाले विसं २०८१ माघ २९ गते ९८ लाख ३८ हजार दुईसय ९२ रूपैयाँमा ठेक्का सम्झौता गरेको मालिका-३ डाँडागाउँ स्वास्थ्य चौकी भवन निर्माणको ३२ लाख ९० हजार दुईसय ४० रूपैयाँमात्र खर्च भएको छ।

अघिभारा-ताक्से-रुम मोटरबाटो निर्माणका लागि विसं २०८१ पुस २५ गते दुई करोड ४८ लाख ८७ हजार ६ सय ६ रूपैयाँमा विके कन्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको जम्मा १७ लाख ६९ हजार दुईसय २० रूपैयाँमात्र भुक्तानी भएको छ। 

संघीय र प्रदेश सरकारको विशेष र समपूरक अनुदानका आयोजना तोकिएको समयमा नसकिँदा गाउँपालिकामा बजेटको दायित्व बढेको अध्यक्ष गर्बुजाले बताए। रासस 


प्रकाशित : आइतबार, साउन १८ २०८२१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend