सिराहा- यहाँको लहान नगरपालिका-२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्यांकीबाट पानी वितरण सुरु गरिएको छ।
खासगरि उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्यांकी बोकेर गाउँमै पुर्याएर वितरण गर्न थालिएको हो।
‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले खानेपानीको धारा जडान हुन बाँकी रहेका बस्तीमा लहान खानेपानी संस्थानसँग समन्वय गरेर दुई हजार लिटर क्षमताको ट्यांकीमार्फत पानी वितरण सुरु गरेको हो।
नगरप्रमुख महेशप्रसाद चौधरीले गाउँ पुगेर पानी वितरण गर्दै भने, ‘खानेपानी मानव जीवनको आधार हो। तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ। आवश्यक परेको खण्डमा यो कार्यक्रम थप लम्ब्याउने तयारी गरिरहेका छौँ।’
नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानीको धारा पुर्याउने योजना सार्वजनिक गरिसकेको उनले जानकारी दिए। बस्तीमा करिब ६० घरपरिवार छन्। उनीहरूलाई गाग्री र बाल्टिनमा पानी भरिदिने व्यवस्था गरिएको छ।
दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुंकेले भन्छन्, ‘विकन परियोजनाले २० लाख रुपैयाँ विनियोजन गरिसकेको छ। लहान नगरपालिका र खानेपानी कार्यालयसँग समन्वय गर्दै तीन महिनासम्म यो काम निरन्तर गरिनेछ।’
स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताए। ‘शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ। तर, लुगा धुन, नुहाउन, गाईभैँसीलाई पानी खुवाउन अझै गाह्रो छ। त्यसका लागि आकाशे पानीको प्रतिक्षा गरिरहेका छौँ।’ खानेपानी संकट लहान-१३, १५, १६, १७ र १८ वडामा देखिएको छ।
खडेरीको असरले इनार, पोखरी, हाते कल, सिँचाइका मोटरहरू सबै सुक्न थालेका छन्। लहान-१३ का ६५ वर्षीय कृषक जगबीर यादव भन्छन्, ‘६ दशकमा यस्तो खडेरी देखिएको थिएन। सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके।’
नगरपालिकाले अब आवश्यकताअनुसार अन्य प्रभावित टोलमा पानी वितरण गर्ने योजना बनाएको छ। पानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अत्यावश्यक रहेको पर्यावरणविद दिनेश यादवको भनाइ छ। रास