सुर्खेत- कर्णाली प्रदेशको राजधनी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा ३५० सीसी क्यामेरा जडानको काम सुरु भएको छ।
वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सीसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेसँगै अपराध नियन्त्रण र शान्तिसुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने भएको छ।
बिहीबार नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा ३५५ स्थानमा सीसी क्यामेरा जडानको प्रक्रिया थालेको हो। वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो। उक्त सम्झौताअनुसार पहिलो चरणमा ६ महिनाभित्र १०५ स्थानमा सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइने छ।
दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै थप २५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सीसी क्यामेरा जडान गरिने नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।
नगरपालिकासँग भएको समझदारीपत्रमा टेलिकमले अप्टिकल फाइबरसहितको सीसी क्यामेरा र ‘वाइफाइ हटस्पट’ जडान गर्नुपर्ने छ।
यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई डिजिटल पालिकाका रुपमा विकास गर्न नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका विभिन्न क्षेत्र स्थानमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने उद्देश्यले विभिन्न वडा, राजमार्ग तथा पर्यटकीयस्थल समेटिने गरी चालु आर्थिक वर्ष २०८२/८३ भित्र ३५५ स्थानमा सीसी क्यामेरा जडान नगरपालिकाबाट हुनेछ। यसरी जडान भएका क्यामेरालाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनुपर्नेछ।
साथै, टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्रांगण र वडा नं ६ र ८ स्थित घण्टाघरको प्रांगण वरिपरिका दुई स्थानमा वाइफाइ हटस्पट बनाउन इन्टरनेट जडान गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नगरका विभिन्न क्षेत्रमा जडान हुने सीसी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्नेछ भने जिल्ला प्रहरी कार्यालयले चौबिसै घण्टा निगरानी गर्नेछ।
यस्तै, नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मतसम्भार गर्नेछ। नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार रूपैयाँ बजेट व्यवस्थापन गरेको छ।
टेलिकमसँग भएको सम्झौताअनुसार वीरेन्द्रनगरको घण्टाघर र विश्वविद्यालय आसपासको क्षेत्रलाई शान्तिक्षेत्र बनाएर अध्ययन तथा अनुसन्धानस्थल निर्माण गरी प्रविधिमा आधारित सिर्जनशील तथा नवप्रवर्द्धनात्मक कार्य गर्न निःशुल्क वाइफाइ जडान गर्न लागिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सीसी क्यामेराबाट शान्तिसुरक्षा मजबुद बनाउन सघाउ पुग्ने बताए। रासस