शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

सुक्खाग्रस्त मधेशमा कठिन भइरहेको रोपाइँ, कसरी जोगाउने ब्याड र धान?

अपनाउन सकिन्छ वैकल्पिक विधि र खेती

images
शुक्रबार, साउन १६ २०८२
images
images
सुक्खाग्रस्त मधेशमा कठिन भइरहेको रोपाइँ, कसरी जोगाउने ब्याड र धान?
धनुषा हरबरास्थित खेतमा बीउ उखेल्दै किसान रामेश्वर राय। तस्बिर : रासस

मधेशको सुक्खाग्रस्त अवस्थामा राजनीतिक भाषणबाजी बढिरहँदा केहीले भने तत्काल के गर्न सकिन्छ भन्नेमा पनि ध्यान दिइरहेका छन्।

images
images

काठमाडौं- लामो समयदेखि आकाशे पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र हुँदा खानेपानी तथा कृषियोग्य जमिनमा सिँचाइको संकट उत्पन्न भएको छ।

images

खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकोप्टर निरीक्षण र तत्काल पाँच सय डिप बोरिङ खन्ने घोषणाले मधेशका किसानले तत्काल कुनै राहत महसुस गर्न सकेका छैनन्। सुक्दै गएको ब्याड र रोपिएकै खेतमा पनि चिरा परिरहेको हेर्न किसान बाध्य छन्।  

images
images
images

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बढ्दो पानी संकट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक भएको र पानीको सतह घट्दै जाँदा डिपबोरिङ जडान गर्नु समाधान नभएको प्रतिक्रिया दिएका छन्।

गृहमन्त्री रमेश लेखकद्वारा विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी विभिन्न निर्देशनहरू दिइएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पनि छलफलमा लागिरहेको छ।   

मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धसमेत जनाएको छ। खडेरीबाट प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका १० वटा पालिकामा लागु हुने कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुने मधेश प्रदेशका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। जसका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मधेशको सुक्खाग्रस्त अवस्थामा राजनीतिक भाषणबाजी बढिरहँदा केहीले भने तत्काल के गर्न सकिन्छ भन्नेमा पनि ध्यान दिइरहेका छन्। त्यसैमध्ये एक हो नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)। नार्कले सुक्खाग्रस्त क्षेत्रमा तत्काल के गर्न सकिन्छ भन्ने विषयमा लगातार विज्ञहरूसँग छलफल गरी सुझावहरू दिइरहेको छ।

मधेश प्रदेशमा गत हिउँद ऋतुमा वर्षा नभएको साथै यस वर्षको मनसुन ऋतुमा हालसम्म ३० वर्षको सरदर वर्षाको करिब २५ प्रतिशतमात्र वर्षा मापन भएको छ। सुक्खाग्रस्त रहने क्रम जारी रहने सम्भावना बढ्दै जाँदा कृषि विभागको तथ्यांकअनुसार हालसम्म करिब ५२ प्रतिशतमात्र रोपाइँ हुन सकेको छ।

मधेश प्रदेशमा ५ लाख ४२ हजार ५ सय ८० हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। अहिले नदी र नहरको पानी तथा बोरिङ एवं पम्पको सहयोगमा केही भागमा धान रोपाइँ भएको हो। धान रोपिएको खेतमा पानी अभाव भएको छ।

सिँचाइ अभावले धान उत्पादनमा कमि आए त्यसको असर कुल गार्हस्थ्य उत्पादनमा पर्ने छ। सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि मधेशका किसानलाई केकस्ता सुविधा दिनेबारे स्पष्ट केही काम देखिएको छैन।

जल तथा मौसम विज्ञान विभागबाट अद्यावधिक गरिएको ऋतुगत आँकलनअनुसार असार १७ देखि असोज १४ सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिन्छ। यस्तोमा नार्कले विज्ञहरूसँग छलफल गरेर धान कसरी जोगाउने भन्ने विस्तृत सुझाव तयार पारेको छ।

राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख सुरज वैद्य, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक मथुरा यादव, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्ट, कृषि औजार अनुसन्धानका प्रमुख डा. सचिन मिश्र, राष्ट्रिय कीट विज्ञान अनुसन्धानका वैज्ञानिक डा. नरेश डाँगी र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. राजेन्द्र कुमार भट्टराईलगायतका विज्ञहरूले अहिलेको अवस्थामा गर्न सकिने कामहरूबारे राय दिएका छन्।

विज्ञहरुले सिञ्चित, असिञ्चित जग्गाका लागि साउनभित्र पानी परेको वा नपरेको अवस्थामा अवलम्बन गर्न सकिने बीउबिजन, प्रविधि, रोप्ने छर्ने विधिबारे राय दिएका छन्। ती प्रविधिहरुमध्ये साउनको अन्तिमसम्म पानी परेको अवस्थामा के गर्ने, हाल भएको बेर्नालाई कसरी जोगाउने र पानी परेको खण्डमा कहिलेसम्म कस्ता जात र बाली रोप्न सकिने भन्नेमा उनीहरुको धारणा छ।

अब के गर्ने त?

होचो भूभागको लागि खरुहन विधि अपनाउन सकिने विज्ञहरूको राय छ। जुन जमिनको अवस्था हेरी १४०-१६० दिनमा पाक्ने जातहरुमा उपयुक्त हुने देखिएको छ।

यसरी खरुहन विधिवाट सारेको बेर्ना बचाउनको लागि उपलब्ध स्रोत साधनको प्रयोग गरि बाली मर्न नदिन अति आवश्यक अवस्थामा मात्र सिँचाइ गर्दा हुने नार्कको भनाइ छ।

पानी नपरेको अवस्थामा विभिन्न रोग र कीराहरुको आक्रमण बढी हुने भएकोले नियमित अवलोकन र खाद्य तत्त्वको उचित व्यवस्थापन गर्ने विषयमा विज्ञहरूले राय दिएका छन्।

उपलब्ध भएसम्म पम्पको पानी उपयोग गरि हल्का सिँचाइ गर्ने र त्यसो नहुँदा पनि रोगबाट जोगाउन विभिन्न उपाय अपाउन सकिने जनाइएको छ।

भदौ लागेपछि पनि यही अवस्था रहेमा वैकल्पिक बाली प्रणालीमा ध्यान दिनुपर्ने जनाइएको छ।

पानी निकास हुने जमिनमा आफ्नो बाली प्रणालीमा उपयुक्त हुने छिटो पाक्ने मकैका जात (अरुण २ या अरुण ४) लगाउन सकिने जसले गर्दा गहुँलगायतका हिउँदेबाली लगाउन सहज हुने विज्ञहरू बताउँछन्। यद्यपि हिउँदे मकै खेती गर्ने किसानले भदौदेखि कात्तिकसम्म नै मकै लगाउन सक्ने छन्।

विकल्प हुनसक्छ छरुवा धान

मधेश प्रदेशको सुक्खाग्रस्त अवस्थामा खेत नहिल्याइ पनि छरुवा धान खेती गर्न सकिन्छ। त्यसको लागि मेसिनको प्रयोग गरी राम्रो उत्पादन लिन सकिने भए पनि पानी नपरेको अवस्थामा सिधै हातले छरेर धान लगाउन सकिन्छ।

खेत २/३ पटक राम्रो खनजोत गरी, खेतलाई पाटा लगाइ समथल बनाएर १.६ किलो प्रतिकठ्ठाको दरले धानको बीउ छर्न सकिन्छ। बीउ छरेपछि हल्का पाटा लगाइ धानलाई माटोले छोपी दिने गर्नुपर्छ।

साउन अन्तिमसम्म यही अवस्था रहेमा छरुवा धान (डाइरेक्ट सिडेड राइस) विधि अपनाउन सकिने देखिएको छ। सुक्खाग्रस्त अवस्थामा खेत नहिल्याइ पनि छरुवा धान खेती गर्न सकिने विज्ञको राय छ। जसका लागि धानका छिटो पाक्ने जातहरु हर्दिनाथ-१, चैते २, चैते ५ र सुक्खा धान-३, सुक्खा धान ५, सुक्खा धान ६ प्रयोग गर्न सकिन्छ।

छरुवा धान छरेको ८/१० दिनभित्र पानी परेमा वा माटोमा चिस्यानको मात्रा कायम रहेमा जातीय विशेषताअनुसार धानको उमार शक्ति राम्रो रहन्छ, तर माटोमा चिस्यान नरहेको अवस्था र धान छरेको १० दिनभित्र पनि पानी नपरेमा उमार शक्ति घट्न गइ उत्पादन र उत्पादकत्त्वमा केही ह्रास आउन सक्छ। छोटो अवधि र बासमती धानका जातहरु साउन मसान्तसम्म लगाउन सकिने भएकाले जात छनौट गर्दा ध्यान दिनु पर्ने विज्ञहरू बताउँछन्।

छरुवा धानको बिधिमा झारपातको बढी समस्या हुने हुनाले धान छरेको १-३ दिनभित्र पेंडीमीथालीन नामको औषधी ६ एमएल प्रतिलिटर पानीमा (एक कठ्ठामा १७ लिटर पानीमा ९६ एमएल) राखी स्प्रे गर्न सकिन्छ। माटोमा हल्का चिस्यानको अवस्था कायम गरी फलेट फ्लायट फ्यान नोजल प्रयोग गरी झारनासक बिषादी स्प्रे गर्न सकिन्छ।

झारको अवस्था हेरी धान छरेको १५ देखि २५ दिनमा झारको ४/५ पात भएको अवस्थामा बिसपाइरीवेक ०.५ एमएल प्रतिलिटर पानीमा (एक कठ्ठामा १७ लिटर पानीमा ८ एम.एल) राखी स्प्रे गर्न सकिन्छ।

रोग र किराबाट कसरी जोगाउने?

अपरिपक्व र बयस्क अबस्थाका रस चुस्ने कीराहरु, फड्के कीराहरु, थ्रिप्स, मिलिबग जस्ताले धानबालीमा क्षति गर्न सक्छन्। बोटहरु मर्ने अर्थात होपर बर्न, बोटको फेदमा कालो ढुसीजस्ता समस्या देखिन सक्छ।

त्यसलाई व्यवस्थापन गर्नका लागि धान रोपेको ३० दिनपछि हरेक हप्ता कम्तीमा एक दिन एकपटक धान खेतको निरीक्षण गर्दा एउटा फड्के कीरा प्रतिगाँज (गाँज हाल्दा) वा १० वटा फड्के कीरा प्रतिगाँज (पोटाउँदा) देखिएमा व्यवस्थापन गर्नु पर्दछ।

पुतली समूह, काडाँदार खपटे, फटेङ्ग्रा जस्ता पात खाने कीराहरुको व्यवस्थापनका लागि ध्यान दिनुपर्छ। त्यसको पहिचानका लागि पातको छेउबाट खाने, बेरिएका पात ढुंग्रो बनाएको जस्तो देखिने हुन्छ। पातहरु सेतो अथवा पातमा सेता लाम्चा धर्सा भएको देखिन्छ। मूल नशामात्र बाँकी राखेर अरु सबै खाएका पातहरु हुन सक्छन्।

पुतली समूहका किराले पातमा ५ प्रतिशतभन्दा बढी क्षति गरेको देखिएमा व्यवस्थापन गर्नु पर्दछ। काडाँदार खपटे दुईवटा बयस्क प्रतिबोट वा १० प्रतिशतभन्दा बढी पातमा क्षति देखिएमा व्यवस्थापन गर्नु पर्दछ। यस्तै २ देखि ८ प्रतिशत पात खाएको प्रतिगाँज वा ७ देखि १२ फटेङ्ग्रा प्रतिवर्गमिटरमा देखिएमा व्यवस्थापन गर्नु पर्दछ।

त्यसको व्यवस्थापनका लागि एसजी ३.२ देखि ३.५ ग्राम वा एसिफेट ७५ प्रतिशत एसएल, १६ मिलिलिटर लीवा इटोफेन्प्रोक्स, १० प्रतिशत ईसी, ८ मिलिलिटर प्रति १६ लिटर पानीमा मिसाएर विरुवाको तल्लो भागमा पर्ने गरि छर्न सकिन्छ।

आन्तरिक विषादीहरु जस्तै कार्टपहाइड्रोक्लोराइड ५० प्रतिशत, एस पी ०.५ ग्राम वा स्पीनोस्याड ४५ प्रतिशत, एससी ५ मिलlलिटर वा इमामेक्टीन बेन्जोएट ५ प्रतिशत, एस जी ५ ग्राम वा साइपरमेथ्रिन १० प्रतिशत ईसी १६ मिलिलिटर प्रति १६ लिटर पानीमा मिसाइ विरुवा भिज्ने गरी प्रकोपको समयमा आवश्यकताअनुसार स्प्रे गर्नु पर्दछ।

डाँठ र गुभो खाने गवारो कीराहरु प्रति २० गाँजमा दुईवटा फुलहरुको झुण्डहरु वा ३ वटा वयस्क पोथी पुतली वा ६ देखि १० प्रतिशत मृत गुवोहरु देखिएमा व्यवस्थापन गर्नु पर्दछ। त्यसका लागि गाँज लाग्ने बेलामा कीराहरु देखिएमा विषादी प्रयोग गर्न सकिन्छ।

दाना चुसेर खाने पतेरा कीराहरूले बीच बीचमा हल्का खैरो र छेउमा गाढा खैरो धब्बा देखिन्छ। पतेराले चुसेको ४ देखि ७ वटा दाना प्रतिबाला देखिएमा व्यवस्थापन गर्नु पर्दछ। जसका लागि दैहिक विषादीहरु जस्तै इमिडाक्लोपिड १७.८ एससी ४ मिलिलिटर वा डिनोटेफुरान २० प्रतिशत एसजी ८ ग्राम वा साइपरमेथ्रिन १० प्रतिशत ईसी १६ मिलिलिटर प्रति १६ लिटर पानीमा मिसाएर धान पसाउँदा प्रयोग गर्न सकिन्छ।

ट्वाँटी र खुने कीराजस्ता जरा खाने कीराहरु देखिन सक्छन्। त्यसले ब्याड अवस्थामा जरा काटिएको र सुकेको ब्याड देखिन सक्छ। ब्याड अवस्थामा क्षति देखिएमा व्यवस्थापन गर्नु पर्दछ। जसका लागि ब्याड अवस्थामा क्षति पाइएमा विषादी जस्तै कार्टपहाइड्रोक्लोराईड ५० प्रतिशत एसपी ०.५ ग्राम प्रति १६ लिटर पानीमा वा ४ प्रतिशत जीआर वा फिप्रोनिल ०.३ प्रतिशत जिआर विषादी ६ सय देखि ७ सय ५० ग्राम प्रतिकठ्ठाका वा १ किलो प्रतिरोपनीका दरले छर्नु पर्दछ।

सुक्खा अवस्थामा धानमा लाग्न सक्ने रोग

खुक्खा अवस्थामा धानमा खैरो थोप्ले रोग देखिन सक्छ। पातमा स-साना गोलाकार वा लाम्चिलो खैरो थोप्लाहरु देखिन्छ। पछि ती थोप्लाहरु एकआपसमा जोडिएर पातहरु सुक्दछन्।

त्यसको व्यवस्थापनका लागि मेन्कोजेब ७५ प्रतिशत र डब्लुपी २.५ ग्राम प्रतिलिटर पानी वा कार्बेन्डाजिम १२ प्रतिशत र मेन्कोजेब ६३ प्रतिशत २.० ग्राम लिटर वा भालिडामाइसिन १.५५ मिलिलिटर वा कपर ओक्सिक्लोराइड २ ग्राम मिसाएर बोट राम्रोसँग भिज्ने गरि छर्नुपर्छ।

पातको टुप्पाबाट किनारा हुँदै लामो सेतो रङका धर्सा र डढुवाहरू देखिन्छन्। जसमा खैरो किनाराले घेरेको हुन्छ र पछि पात टुप्पोबाट सुकेर मर्दछ, जसलाई पातमा लाग्ने डढुवा भनिन्छ। त्यसका लागि मेन्कोजेब ७५ प्रतिशत र डब्लुपी २.५ ग्राम प्रति लिटरपानी  वा कार्बेन्डाजिम १२ प्रतिशत र मेन्कोजेब ६३ प्रतिशत २.० ग्राम पानीमा मिसाएर बोट राम्रोसँग भिज्ने गरि छर्नुपर्छ।

पुराना पातमा सुरुमा स-साना गोलाकार र पछि लाम्चिलो खैरो थोप्लाहरु देखिन सक्छन्। पछि ती थोप्लाहरुका बीच भागहरु हल्का खैरो र किनारा गाढा खैरो हुँदै पातहरु सुक्दै जान्छन्। जसलाई पात थोप्ले रोग भनिन्छ।

त्यसको व्यवस्थापनका लागि मेन्कोजेब ७५ प्रतिशत र डब्लुपी २.५ ग्राम प्रतिलिटर वा कार्बेन्डाजिम १२ प्रतिशत र मेन्कोजेब ६३ प्रतिशत २ ग्राम वा कपर ओक्सिक्लोराइड २ ग्राम पानीमा मिसाएर बोट राम्रोसँग भिज्ने गरि छर्न सकिन्छ।

सुक्खा अवस्थामा माटोमा भएका सुक्ष्म जीवाणुहरूको क्रियाशीलता कम हुन्छ, जसले गर्दा विशेष गरी नाइट्रोजन, फस्फोर र सल्फर को खनिजीकरण प्रक्रिया कम हुन्छ। सुक्खा माटोमा पोषक तत्वको चलायमान कमजोर हुने भएकाले जराले ती तत्वहरू सोस्न सक्दैन।

पहिलो टप ड्रेसिङ रोपाइँ पछिको २५/३० दिनभित्र गर्नु उपयुक्त हुन्छ जुन वर्षा प्रणालीमा आधारित हुन्छ। दोश्रो टप ड्रेसिङ रोपाइँपछिको ५५/६० दिनभित्र गर्नुपर्छ, जुन वर्षा प्रणालीमा आधारित हुन्छ।

माटोको चिस्यान केहीबेर अडाइ राखेमा र पोषक तत्त्वको उपलब्धता बढाउन गोठेमल वा कम्पोस्ट प्रयोग गर्नु आवश्यक हुन्छ।


प्रकाशित : शुक्रबार, साउन १६ २०८२१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend