काठमाडौं- बिपी राजमार्ग पुनर्निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले २.८ अर्ब येन अनुदान सहयोग गर्ने भएको छ।
२०८१ असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले काभ्रेको भकुण्डेदेखि सिन्धुलीको नेपालथोकसम्म २८ किलोमिटर सडक पूर्णरुपमा बगाएको थियो।
पहिला पनि बिपी राजमार्ग जाइकाले बनाइदिएकाले गतवर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले औपचारिक रुपमै जाइकालाई पुनर्निर्माणको प्रस्ताव गरेकाे थियाे।
अहिले मन्त्रालयकाे प्रस्ताव पूर्णरुपमा जाइकाले स्वीकार गरेकाे छैन। यद्यपि बाढीले क्षति पुर्याएकाे २८ किलोमिटरमध्ये ३.२ किलोमिटर सडक अनुदान सहयोगमा जाइकाले पुनर्निर्माण गर्ने सहमति गरेको हो। जसको लागत अनुमान २.८ अर्ब जापानिज येन आँकलन गरेर सोही रकम दिने जाइकाले निर्णय गरेको छ।
उक्त अनुदान सहयोग स्वीकार गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार उक्त रकम नेपालले क्यास प्राप्त गर्दैन। २.८ अर्ब येनबराबरको काम जाइकाले बिपीमा गर्नेछ।
‘हामीले रकम पाउँदैनौँ, सडक बन्छ त्यति नै हाे। उनीहरुकै प्राविधिक, अध्ययन, निर्माण कम्पनी हुन्छ। नेपालले आवश्यक सहजीकरण मात्रै गर्छ’ उनले भने।

डीपीआर अध्ययन गर्दै जाइका
जाइकाको प्राविधिक टोलीलले गत फागुनदेखि बिपी राजमार्गको ३.२ किलोमिटर क्षेत्र पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन गर्दैछ। तर कहिलेसम्म डीपीआर तयार हुन्छ भन्ने यकिन जानकारी आफूसँग नभएको डिभिजन प्रमुख योगेश बताउँछन्।
‘अनुदानमा गर्ने काम हो हामीले धरै सोधखोज गर्न पनि मिलेन, जाइकाको आफ्नै योजनाले काम गर्छ, कहिले सकिन्छ थाहा हुँदैन’ उनले भने। डीपीआर तयार भएपछि नेपालसँग आवश्यक प्रक्रिया पूरा गरेर जाइकाले ठेक्का आह्वान गर्नेछ।
निर्माण कम्पनी पनि जापानिज नै राख्ने सम्भावना उच्च रहेको डिभिजन प्रमुख योगेशको भनाइ छ। जाइकाले यसअघि बिपी राजमार्ग निर्माण पनि आफ्नै देशका निर्माण व्यवसायी ल्याएर गरेको थियो भने नागढुंगा-नौबिसे सुरुङमार्गमा पनि उनीहरुकै कम्पनीले काम गर्दैछन्।
यसको प्रत्यक्ष प्रभाव नपरे पनि जाइकाले आफ्नै देशकाे जनशक्ति प्रयाेग गर्दा नेपालमा पैसा भित्रिन पाउँदैन। जसका कारण आर्थिक पक्षबाट खासै फाइदा भने हुँदैन।
साथै जाइकाले यसअघि चर्चा भएजस्तो सुरुङ भने नबनाउने भएको छ। भौतिक मन्त्रालयले सुरुङसहितको सडक पुनर्निर्माण गर्न प्रस्ताव गरेको थियो। तर बजेट अभाव भएको भन्दै जाइकाले सुरुङ नबनाइ पहिलाको जसरी नै सडक पुनर्निर्माण गर्ने निर्णय गरेको हो। जाइकाले बनाउने सडक बालाबेँसीदेखि बर्खे खोलासम्मको ३.२ किलोमिटर हो।
कुल २८ किलोमिटरमध्ये नेपाल आफैले लगानी गरेर बनाउने सडकको तीनवटा खण्डमा ठेक्का लागिसकेको छ। बर्खे खोलादेखि सिन्धुलीको नेपालथोकम्म ३ किलोमिटर खण्ड सडक डिभिजन खाल्टेले ठेक्का लगाएको छ।
बाँकी जाइकाले पुनर्निर्माण गर्नेबाहेक बालाबेँसीदेखि बर्खे खोलासम्मको २.३ किलोमिटर खण्ड ठेक्का मूल्यांकनको प्रक्रियामा छ। केही दिनभित्रै यसका लागि निर्माण व्यवसायी छनोट हुने सडक डिभिजन भक्तपुरले जनाएको छ।
बालाबेँसीदेखि बर्खे खोलासम्म जाइकाले पुनर्निर्माण गर्ने अपेक्षा गरेको तर सोचेअनुसार सहयोग नहुने भएपछि ठेक्का लागाउन ढिलाइ भएको प्रमुखले बताए। बालाबेँसीदेखि चारसय बेँसीसम्मको ८.५ किलोमिटर १ अर्ब २२ करोड र चारसय बेँसीदेखि काभ्रेको भकुण्डेबेँसीसम्म ११ किलोमिटर सडक १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ।
८.५ किलोमिटर खण्डमा बढी क्षति भएका कारण लागत बढी र ११ किलोमिटर क्षेत्रमा कम क्षति भएकाले थोरै रकममा सम्झौता भएको हो। पुनर्निर्माण सम्झौता भएका तीनवटै ठेक्कको म्याद दुई वर्षसम्म छ। साथै साइटमा मेसिनहरु परिचालन गरे प्रारम्भिक काम पनि सुरु भइसकेको बताइएको छ।
बिपी राजमार्गकाे लम्बाइ काभ्रेको धुलिखेलदेखि महोत्तरीको बर्दिबाससम्म १६० किलोमिटर छ। वि.सं. २०५२ सालमा निर्माण सुरु गरी २०७२ असारमा जाइकाले नेपाललाई हस्तान्तरण गरेको थियो। त्यसबेला बिपी राजमार्ग बनाउन २६ अर्ब जापानीज येन खर्च भएकाे थियो। बिपी राजमार्गले पूर्वी नेपालका हिमाली तथा पहाडी क्षेत्र र मधेश प्रदेशलाई काठमाडौंसँग जोड्छ।