ताप्लेजुङ- मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ।
प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुननिर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको हाे। बजेट नहुँदा काम रोकिएको छ।
वि.सं. १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो। गुठीको निरन्तरता नहुँदा २०७७ सालमा स्थानीय तेन्जिङ शेर्पाको अगुवाइमा पुनर्निर्माण सुरु गरिएको थियो।
शेर्पालाई अमेरिका, जर्मनीलगायत देशमा रहेका नेपालीले ४५ लाख रुपैयाँ प्रदान गरेका थिए। प्राप्त रकमबाट काम थालिएको जानकारी दिँदै सामाजिक अभियन्ता शेर्पाले हाल रकम अभावमा काम रोकिएको बताए।
गुम्बाको प्लास्टर, भुइँ सिँगार, सिलिङलगायत संरचना पूरा गर्न रकम अभाव भएको उनको गुनासो छ। साथै दाताहरूलाई सहयोगका निम्ति उनले आग्रहसमेत गरेका छन्। रासस