बागलुङ- कृषि उपज बजार पुर्याउन जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको छ। साथै पालिकाले आगामी भदौदेखि त्यसलाई सञ्चालन गर्ने तयारी थालेको छ।
संघ सरकारबाट प्राप्त २५ लाख रुपैयाँ र त्यति नै रकम थपेर नगरपालिकाले ५० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।
नगरपालिका क्षेत्रमा पाँचसय वटा कृषि फर्म, कृषि सहकारी र कृषक समूह सक्रिय छन्। चार हजार परिवार कृषि उत्पादनमा जोडिएका छन्। कृषि एम्बुलेन्स उनीहरूका उत्पादन बजार पुर्याउन उपयोग गरिने छ।
नगरपालिकाले युवा र किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न अनुदान, तालिम र प्राविधिक सहयोग गर्दै आएको छ। अब बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिने उपप्रमुख शर्माकाे भनाइ छ।
नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा कुश्मिसेरामा कृषि उपज संकलन केन्द्र स्थापना गरेको छ। साथै उपल्लो दमेक सर्कुवामा चिस्यान केन्द्र निर्माण गरेको छ। रासस