शनिबार, साउन १२ गते २०८१    
images
images
images

म्याग्दीमा रावणको २० फिट अग्लो मूर्ति बनाइँदै, १ करोड ७६ लाख खर्चेर पार्क पनि

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ९ २०७८
images
images
म्याग्दीमा रावणको २० फिट अग्लो मूर्ति बनाइँदै, १ करोड ७६ लाख खर्चेर पार्क पनि
images

म्याग्दी- धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति स्थापना गर्न लागिएको छ। बेनी नगरपालिका-५ स्थित पछैमा निर्माण हुन लागेको रावणपार्कमा आकर्षक मूर्ति राख्न लागिएको हो। नगरपालिकाका इञ्जिनीयर बिमलरञ्जन कार्कीले दश वटा टाउको भएको २० फिट अग्लो रावणको मूर्ति राख्न लागिएको जानकारी दिए। 

images
images

'चार हजार किलो तौल भएको मूर्तिको बाहिरी भाग पित्तलले लेपन गरिएको हुनेछ,' उनले भने 'कालिगढले मूर्तिको आकार तयार पारिसकेका छन्। म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारको शिरमा धेरै टाढाबाट देख्नसक्ने गरी ठूलो आकारको मूर्ति राख्न लागिएको हो।'

images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले सुरु गरेको रावणपार्क निर्माणको काम धमाधम भइरहेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए। 'परिकल्पना भएको एक दशकपछि यो योजना कार्यान्वयन भएको हो,' उनले भने 'काठमाडौंमा मूर्ति तयार हुँदैछ। पछैमा मूर्ति राख्ने ठाउँ र पार्कको संरचना बनाउने काम भइरहेको छ।'

रावणपार्क बनाउन काठमाडौँको धर्मा एस कास्यप जेभीले गत भदौमा १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। पहिलो चरणमा रावणको मूर्ति, बगैँचा, विश्रामस्थललगायत पूर्वाधार तयार पार्न लागिएको उनको भनाइ थियो। 

images

विसं २०७९ पुस महिनासम्ममा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ। चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रावणपार्क बनाउन लागिएको हो। हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको ठाउँलाई यथावत् राखेर पूर्वाधार बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताए। रावणपार्क नगरपालिकाको गौरवको आयोजना हो। 

हिन्दू धर्मग्रन्थ रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ। पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा उल्लेख छ। विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्ष गरेर बेनीमा रावणपार्क बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो। 

पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मूर्ति राख्ने, बगैँचा निर्माण, नाभी गाडेकोलगायत ठाउँको संरक्षणका लागि पूर्वाधार निर्माण र २०० मिटर बाटो कालोपत्र गर्ने योजना छ। विसं २०७४ देखिनै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रावण पार्कको योजना कार्यान्वयन हुनसकेको थिएन्। मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ। 

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमशृङ्खलाका साथै सूर्योदय, बेनी बजारलगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ। बेनी बजारदेखि गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनीदेखि अर्थुङ्गेसम्मको सडक कालोपत्र भइसकेको छ। रासस


प्रकाशित : सोमबार, फागुन ९ २०७८१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend