आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

बिहीबार , साउन १५ २०८२
सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

पुँजीगततर्फको बजेट एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मीनबहादुर घर्तिमगरले जानकारी दिए।

जुम्ला- जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये ७५ करोड दुई लाख ६९ हजार रुपैयाँ बजेट फिर्ता गएको छ।  

संघीय सरकारले जिल्लाको विकासका लागिसबैभन्दा बढी रकम यसै कार्यालयका लागि विनियोजन गरेको थियो। पुँजीगततर्फको बजेट एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मीनबहादुर घर्तिमगरले जानकारी दिए। 

यस कार्यालयको चालुतर्फ एक करोड ६८ लाख १२ हजार विनियोजन बजेटमध्ये एक करोड १३ लाख ८७ हजार रुपैयाँ अर्थात् ६७ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको छ। चालु र पुँजीगत गरी जम्मा बजेट एक अर्ब ६५ करोड ४० लाख ७६ हजार विनियोजनमध्ये पुँजीगततर्फ खर्च हुन नसक्दा ७५ करोड दुई लाख ६९ हजार रुपैयाँ ‘फ्रिज’ गएको हो। 

७६ वटा ठेक्काबाट सञ्चालन हुने सबै योजनाको काम सम्पन्न नहुँदा बजेट फिर्ता गएको कार्यालयले जनाएको छ। ती योजनालाई बहुवर्षीय बजेट सुनिश्चततामा ढिलाइ हुँदा बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाका सूचना अधिकारी चन्द्र थापाले जानकारी दिए। उपभोक्ता समितिबाट निर्माण हुने करिब ३० वटा योजनाको रकमसमेत फ्रिज गएको छ। 

सबैभन्दा बढी डोल्पा र जुम्लाका योजनाका लागि आएको बजेट फिर्ता गएको छ। साविको माथिल्लो कर्णालीका जुम्लालगायत कालीकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्लाको बजेट सदुपयोग नहुँदा करोडौँ बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाले जनाएको छ। 

यसैगरी सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ ७१ करोड ५५ लाखमध्ये ५६ करोड ३२ लाख १२ हजार रुपैयाँ अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ। १५ करोड ४२ लाख ६३ हजार रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend