म्याग्दी- यहाँको रघुगंगा गाउँपालिकाको भगवती-बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतीबाट बेगतर्फ सडक स्तरोन्नति थालेको हो।
गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१/८२ मा एकरएकवटा सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउन छनोट गरेको थियो।
म्याग्दी (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा गलेश्वर- पिप्ले-भगवती हुँदै बेग र भगवती-सिजलगाउँ-साझपानी-बयारीगाउँ-बेग सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले पाँच करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको थियो।
गत असार ९ गते पूर्वाधार विकास कार्यालय र हिमालयन कन्सट्रक्सनबीच दुई करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का अवधि १८ महिना छ। कम्पनीका सञ्चालक निरज भण्डारीले पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री जुटाएर निर्धारित समय अगावै सम्पन्न गरिने बताए।
भगवतीको जैसीखोरदेखि सिजलगाउँ हुँदै बेगतर्फ एक किलोमिटर चारसय मिटर ढलान र ‘प्रिमिक्स’ कालोपत्र हुुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए। यसअघि गलेश्वर-पिप्ले-भगवती-बेग सडकअन्तर्गत पिप्ले-भगवती खण्डमा करिब ६ किलोमिटर सडक कालोपत्र भएको थियो।
१५ वर्षअघि खुलेको यो सडक चारदेखि पाँच मिटर फराकिलो छ। योजनामार्फत कम्तीमा सात मिटर फराकिलो, पर्खाल र नाली निर्माण गरिने भएको छ। यो सडकबाट रघुगंगा गाउँपालिका-१ बेग र २ नम्बर वडा भगवतीका बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। रासस