काठमाडौं- गएको वर्ष साउनयताकै उच्च बिन्दुमा पुगेको सेयर बजार फेरि घटेको छ।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा हिजो मंगलबार ३००२.०८ बिन्दुमा पुगेको थियो। मंगलबार बजार ३०.७६ अंकले बढेर ३००२.०८ बिन्दुमा पुगेको बजार बुधबार घटेको हो।
बुधबार ४७.९४ अंकले घटेर बजार २९५४.१४ बिन्दुमा झरेको छ। २३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। २२६ कम्पनीको सेयर मूल्य घटेको छ।
लगातार उचाइको लय देखाइरहेको बजार बुधबार केही घट्दैमा अत्तालिनु नपर्ने विश्लेषकहरू बताउँछन्। बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेकाले यसपटक नयाँ उचाइ भेट्ने उनीहरूको आँकलन छ।
गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ।
अहिले लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले बजार नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्। कारोबार रकममा देखिएको उत्साह पनि बजार बढ्ने आधारका रुपमा हेरिएको उनीहरूको भनाइ छ।