काठमाडौं- चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडक योजनामा हालसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ।
१ सय १३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकमा दाउन्नेबाहेक अन्यत्र प्राय सबै ठाँउमा कालोपत्रे भएसँगै यात्रा सहज भइरहेको आयोजनाले जनाएको छ।
चालु वर्षा र आउँदो हिउँदको केही समय दाउन्नेमा केही कठिन हुने र त्यसपछि १३ किलोमिटर दाउन्नेमा पनि यात्रा सहज हुने जनाइएको छ।
दाउन्नेमा सडक ढलानसहित चोरमारामा कालोपत्र, पुल निर्माण, दुई लेन सडक भएको ठाउँमा चार लेन बनाउने, डिभाइडर बनाउने काम भइरहेको छ। सडक विस्तारका लागि अहिले दुईसय ७२ जना श्रमिक काम गरिरहेका छन्।
योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ। सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक इन्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिएका छन्।
निर्माण कम्पनीले नेपाल सरकारसँग २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरी ४२ महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो। निर्धारित समयमा काम नसकिएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै सडक विस्तारको म्याद थप गर्दै आएको छ।
दुई खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट-बुटवल सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ। नारायणघाट-बुटवल सडक योजना पूर्वी खण्ड (गैँडाकोट-दाउन्ने) ६५ किलोमिटरको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रूपैयाँ एवं पश्चिम खण्ड (दाउन्ने-बुटवल) ४९ किलोमिटरको लागत सात अर्ब ८६ करोड ३४ लाख रूपैयाँ छ। एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम सरकारको छ।