बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

दोवाका स्थानीयको घरखर्च चलाउने माध्यम बन्न थाल्यो निहुरो, गाउँबाटै हुन्छ बिक्री

images
बुधबार, साउन १४ २०८२
images
images
दोवाका स्थानीयको घरखर्च चलाउने माध्यम बन्न थाल्यो निहुरो, गाउँबाटै हुन्छ बिक्री

जंगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन्।

images
images

म्याग्दी- म्याग्दीको उच्च पहाडी क्षेत्रको जंगलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ। केही वर्षअघिसम्म जंगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन्।

images

अन्नपूर्ण गाउँपालिका-१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताए। उनका अनुसार दोवामा निहुरोबाट वार्षिक २५ देखि ३० लाख रूपैयाँ नगद भित्रने गरेको छ।

images
images

'बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँलेहरु साउन र भदौ महिनामा दैनिकजसो जंगलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्', उनले भने, 'गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पुर्‍याउँछन्।'

images
images
images

दोवाकी निहुरो संकलक मायाकुमारी पुनले प्रतिकिलो ६५ देखि ७० रूपैयाँमा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताइन्। 'कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ', उनले भनिन्, 'फुर्सदको समय सदुपयोगका साथै घरखर्च चलाउने आम्दानी जुटाएका छौँ।'

दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५ सय किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारी बताउँछन्। बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौं पठाउने गरेको बताए।

'बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य १०० देखि  १२० रूपैयाँसम्म पर्छ', उनले भने, 'गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो। यसपालि गाउँबाट गत वर्षको तुलनामा आधामात्रै निहुरो आएको छ। माग धान्न सकिएको छैन।'

समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रुपमा उम्रन्छ। निहुरोको मुना छिप्पीएपछि सोत्तर हुन्छ। मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रुपमा प्रयोग गर्न सकिन्छ। यो एक जैविक तरकारी समेत हो।

निहुरो टुसा पलाएको चार/पाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ। निहुरोमा एन्टिअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ। बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले निहुरोको तरकारी र अचार पाहुनाले रुचाउने बताए।

स्वास्थ्यकर्मीहरुका अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने निहुरोमा आइरनको मात्रा पनि हुन्छ। आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ। मुटु र मधुमेह रोगीहरूका लागि पनि निहुरो निकै उत्तम आहार मानिन्छ। यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताको अनुभव छ। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend