आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

एक वर्षयताकै उच्च बिन्दुमा सेयर बजार, अब पार होला ३२००?

३००२ बिन्दुमा, १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार

मंगलबार, साउन १३ २०८२
एक वर्षयताकै उच्च बिन्दुमा सेयर बजार, अब पार होला ३२००?

काठमाडौं- सेयर बजार गएको वर्ष साउनयताकै उच्च बिन्दुमा पुगेको छ। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा आज मंगलबार ३००२.०८ बिन्दुमा पुगेको छ। 

मंगलबार बजार ३०.७६ अंकले बढेर ३००२.०८ बिन्दुमा पुगेको हो। १७६ कम्पनीको सेयर मूल्य बढ्दा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ। 

२५६.८९ अंकले बढेपछि यो साता आइतबार व्यापक उतारचढावबीच १८.४५ अंकले करेक्सन देखिएको बजार सोमबार ७.१० अंकले बढेको थियो। आइतबार २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो। जुन अहिलेसम्मकै चौँथो ठूलो कारोबार रकम हो। सोमबार १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँको कारोबार भएको थियो। 

गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा राम्रो वृद्धि भइरहेको छ। साउनको पहिलो कारोबारमा १ गते बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो। गएको साता आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ, सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ, मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ, बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ र बिहीबार १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँको कारोबार भएको थियो। 

गएको वर्ष पनि साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। त्यही दिन नै बजार ३०००.८१ को बिन्दुसम्म पुगेको हो। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्। 

अहिले लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले बजार नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्। कारोबार रकममा देखिएको उत्साह पनि बजार बढ्ने आधारका रुपमा हेरिएको उनीहरूको भनाइ छ। त्यहीअनुसार बजारको वृद्धि पनि देखिएको छ। 


प्रकाशित : मंगलबार, साउन १३ २०८२१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend