बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

'क्रुज सेप'मा तयार भयो गोदावरी फरेस्ट होटल, अमेरिकन चेन 'बेस्ट वेस्टर्न प्लस'ले व्यवस्थापन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १३ २०८२
'क्रुज सेप'मा तयार भयो गोदावरी फरेस्ट होटल, अमेरिकन चेन 'बेस्ट वेस्टर्न प्लस'ले व्यवस्थापन गर्ने

काठमाडौं- ललितपुरको गोदावरीस्थित क्रुजसेपमा निर्माण भएको 'गोदावरी फरेस्ट होटल' अब अमेरिकन होटल चेन ब्रान्ड 'बेस्ट वेस्टर्न प्लस' को व्यवस्थापनमा सञ्चालनमा आउने भएको छ। करिब ६ वर्ष लामो निर्माणपछि १ अर्ब ९५ करोड रुपैयाँको लागतमा तयार भएको यो रिसोर्ट आगामी दसैँअघि सञ्चालनमा ल्याउने तयारी छ।

सञ्चालक युवराज श्रेष्ठका अनुसार होटलको पूर्वाधार निर्माण सकिएको छ। 'पाँचतारे सुविधा प्रदान गर्नेगरी रिसोर्ट तयार गरेका छौँ,' श्रेष्ठले बताए। होटलले अहिले भने चारतारेको मात्रै वर्गीकरण लिने छ।

रिसोर्टमा ८३ वटा आधुनिक कोठा, तीनवटा मिटिङ हल, एउटा बोर्ड रुम, दुईवटा रेस्टुरेन्ट, ३ सयभन्दा बढी व्यक्तिको क्षमताको इभेन्ट हल (बैंक्वेट) र इन्फिनिटि स्वीमिङ पुल जस्ता सुविधाहरू समावेश छन्।

गोदावरी क्षेत्रको मौलिकता झल्काउने गरी ५८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको रिसोर्ट पूर्ण पारिवारिक वातावरणमा तयार गरिएको सञ्चालकहरू बताउँछन्। सातदोबाटोबाट ९ किलोमिटर दुरीमा रहेको रिसोर्टले राजधानीनजिकको गन्तव्य खोज्ने आन्तरिक, भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गरेको छ।

godawori forest resort 1.jpg

गोदावरी क्षेत्र हाइकिङ, पदयात्रा र धार्मिक पर्यटनको आकर्षक केन्द्र बन्दै गएको बेला सञ्चालनमा आउन लागेको रिसोर्टले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। गोदावरीमा फूल र बोटविरुवाको जैविक विविधताका साथै पदमार्गहरूको सहज पहुँचका कारण पर्यटकको चाप बढ्दो छ।

रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।

सरकारले यसै क्षेत्रमा तीन हजार क्षमताको सभाहल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। रिसोर्ट सञ्चालनमा आएपछि सभाहलमा सहभागी हुनेहरूलाई समेत बसोबासको थप सुविधा हुने अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, साउन १३ २०८२१२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend