आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

नेप्सेमा एकैदिन बारम्बार सच्याइयो अंक, अहिले बढ्यो ७ अंकले

सोमबार, साउन १२ २०८२
नेप्सेमा एकैदिन बारम्बार सच्याइयो अंक, अहिले बढ्यो ७ अंकले

काठमाडौं- भारित औसत गणनाको नियम लगाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबार एकैदिन बारम्बार अंक सच्याएको छ।

सोमबार ३ बजे कारोबार बन्द हुँदा बजार १२.१३ अंकको वृद्धिसहित २९७६.३३ बिन्दुमा रहेको थियो। त्यसको २४ मिनेटपछि भारित औसत गणनाको नियम लगाएर बजार २.०६ अंकले घटाउँदै २९६२.१३ बिन्दुमा पुर्‍याइएको थियो। जुन गलत भएको भन्दै नेप्सेले पुन: सच्याएर बजार ७.१० अंकले बढाउँदै २९७१.३१ बिन्दुमा पुर्‍यायो। 

नेप्सेमा भारित औसत मूल्य गणनाको नियमले आजको कारोबारमा अन्तिम बिन्दुमा व्यापक भिन्नता देखिएको हो। दोहोरो अंकको वृद्धिमा ३ बजे कारोबार बन्द भएको बजार भारित औसत मूल्य गणनापछि २.०६ अंकले घट्यो।

nepse point.jpg
नेप्सेले सच्याएको अंक।

कारोबार प्रणाली (टीएमएस)मा भने भारित औसत मूल्य गणनापछि पनि नेप्से २.६२ अंक हरियोमा देखिएको छ। नेप्सेको वेबसाइटमा पछिल्लो पटक सच्चिएर ७ अंकको वृद्धि देखिरहँदा टीएमएसमा भने सच्चिएको छैन। यो सबै विषयले लगानीकर्ताहरू सूचकहरूलाई लिएर केही दुविधामा समेत देखिन्छन्। 

atrade.jpg
टीएमएसमा देखिएको अंक।

कारोबार बन्द हुनेवित्तिकै अन्तिम पटकको कारोबारका आधारमा सूचकहरु देखिने तर १५/२० मिनेटपछि भारित औसत मूल्यका आधारमा सूचकहरु देखिने गरेका छन्। जसले लगानीकर्ताहरू सूचकहरूलाई लिएर केही दुविधामा समेत देखिन्छन्।

नेप्सेको कारोबार प्रणालीमा कारोबार समयपश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राविधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको नेप्सेले जनाएको छ। 

गएको वर्ष चैत ७ गते यता नेप्सेले भारित औसत गणनाको नियम लगाएको हो। जसमा २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कारोबार हुने सेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यसअघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम मूल्य हुने छ।

सेयर कारोबारमा कम्पनीको अन्तिम मूल्य निर्धारणका लागि लागु अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरेर १५ मिनेटको विधि अनुकूल हुने देखिएपछि कार्यान्वयनमा ल्याएको नेप्सेको भनाइ भए पनि यसको विरोध हुँदै आइरहेको छ। 


प्रकाशित : सोमबार, साउन १२ २०८२१८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend