बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा, तोकिएको समयअगावै सम्पन्न हुने

मंगलबार, साउन १३ २०८२

नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ३ अर्ब ९ करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको यो भवन हाल अन्तिम चरणमा पुगेको छ। जसमा आउने असोजभित्र काम सम्पन्न हुने भएको छ।

काठमाडौं- नेपालको पश्चिमी क्षेत्रको प्रमुख हवाई प्रवेशद्वारका रूपमा परिचित नेपालगञ्ज विमानस्थलमा निर्माणाधीन अत्याधुनिक टर्मिनल भवन तोकिएको समयभन्दा अघि नै सम्पन्न हुने भएको छ।

आउँदो मंसिरसम्मको समय रहे पनि असोजभित्र नै सम्पन्न गर्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ। हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ३ अर्ब ९ करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको यो भवन हाल अन्तिम चरणमा पुगेको छ।

नेपालगञ्ज विमानस्थलको स्तरोन्नति योजनाअनुरूप सुरु गरिएको नयाँ टर्मिनल भवन निर्माणले आन्तरिक हवाई सेवामात्र नभइ भविष्यको अन्तर्राष्ट्रिय सम्भावनालाई समेत ध्यान दिएको छ। भविष्य हेरेर नै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। ‘सबै हिसाबले सुविधासम्पन्न टर्मिनल भवन बनेको छ, यसले यात्रुलाई सहजता दिनेछ,’ अधिकारीले भने।  

प्राधिकरणको एरोड्रोम इन्जिनियरिङ विभागको प्राविधिक नेतृत्वमा भइरहेको कामले तोकिएको म्यादभन्दा चाँडै निर्माण सकिने भएको हो। विभाग प्रमुख बाबुराम शर्मा पौडेलका अनुसार भवनको संरचनात्मक निर्माण सकिएपछि हाल फिनिसिङको काम तीव्र गतिमा अगाडि बढिरहेको छ।

nepalgunj terminal.jpg

शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा लिएको भवन करिब १३ हजार १ सय ४४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले पिक आवरमा प्रतिघण्टा १ हजार ६ सय यात्रुलाई सेवा दिन सक्नेछ।

बालबालिकाका लागि विशेष खेलकुद स्थान, पर्याप्त पार्किङ, सहज पहुँच मार्ग, सुन्दर ल्यान्ड स्केपिङ, व्यवसायिक प्रयोजनका लागि छुट्टै स्पेस जस्ता सुविधाहरू यो भवनमा समावेश गरिएका छन्। ‘समयअगावै हामीले टर्मिनल भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने छौँ,’ शर्मा एण्ड कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रमेश शर्माले भने।

हाल निर्माणाधीन टर्मिनल मुख्यतः आन्तरिक उडानका यात्रुहरूलाई लक्षित गरी डिजाइन गरिएको भए पनि क्रस बोर्डर उडान सञ्चालनको सम्भावनालाई ध्यानमा राखिएको छ। भवनको बनावट र प्रवाह त्यसैअनुसार मिलाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले भनेअनुसार नै भविष्यमा अन्तर्राष्ट्रिय वा सीमापार उडान सञ्चालनका लागि आवश्यक पूर्वाधारसमेत तयार पारेको शर्माले बताए।

nepalgunj terminal 2.jpg

नेपालगञ्ज विमानस्थलको इतिहास गौरवपूर्ण छ। सन् १९६१ मा खजुराबाट सञ्चालनमा आएको यो विमानस्थल सन् १९८० मा राँझा सारिएपछि पश्चिम नेपालमा हवाई सम्पर्कको मुख्य केन्द्रका रूपमा स्थापित हुँदै आएको छ।

कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्ला र राजधानी काठमाडौं तथा पोखरासँग हवाई सञ्जाल कायम गर्ने माध्यम बनेको यस विमानस्थलमा पछिल्ला वर्षहरूमा संरचनागत सुधार तीव्र रूपमा भइरहेको छ।

विमानस्थलको धावनमार्ग १ हजार ५ सय मिटरबाट बढाएर १ हजार ७ सय मिटर बनाइएको छ। रनवे लाइट, ओभरले र एप्रोन निर्माण सम्पन्न भइसकेका छन्। अहिले विमानस्थलमा एकैपटक ६ वटा एटीआर वा सोसरहका जहाज पार्क गर्न सक्ने सुविधा तयार भइसकेको छ।

भारतको सीमावर्ती क्षेत्रनजिक रहेको यो विमानस्थललाई त्रिदेशीय व्यापार र क्षेत्रीय हवाई सम्पर्कको केन्द्रको रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित निर्माण कार्य अगाडि बढाइएको प्राधिकरणको दाबी छ।


प्रकाशित : मंगलबार, साउन १३ २०८२०७:२९
  • सम्बन्धित विषय:

  • # बन्दैछ देश


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend