आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजार सामान्य घट्यो, १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार

सोमबार, साउन १२ २०८२
सेयर बजार सामान्य घट्यो, १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार २५६.८९ अंकले बढेपछि आइतबार व्यापक उतारचढावबीच १८.४५ अंकको 'करेक्सन' देखिएको सेयर बजार आज सोमबार पुन: सामान्य घटेको छ। 

नेप्सेमा भारित औसत मूल्य गणनाको नियमले आजको कारोबारमा अन्तिम बिन्दुमा व्यापक भिन्नता देखिएको छ। दोहोरो अंकको वृद्धिमा ३ बजे कारोबार बन्द भएको बजार भारित औसत मूल्य गणनापछि २.०६ अंकले घट्यो। कारोबार बन्द हुनेवित्तिकै अन्तिम पटकको कारोबारका आधारमा सूचकहरु देखिने तर १५/२० मिनेटपछि भारित औसत मूल्यका आधारमा सूचकहरु देखिने गरेका छन्। जसले लगानीकर्ताहरू सूचकहरूलाई लिएर केही दुविधामा समेत देखिन्छन्। 

सोमबार २.०६ अंकले घटेर बजार २९६२.१३ बिन्दुमा झरेको छ। ९४ कम्पनीको सेयर मूल्य बढेको बजारमा १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ। १५६ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा राम्रो वृद्धि भइरहेको छ। साउनको पहिलो कारोबारमा १ गते बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो। गएको साता आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ, सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ, मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ, बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ र बिहीबार १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँको कारोबार भएको थियो।

यो साता पहिलो कारोबारमा आइतबार २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो। जुन अहिलेसम्मकै चौथो ठूलो कारोबार रकम हो। 

गएको वर्ष पनि साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। जतिबेला बजार ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्। दुई दिन करेक्सन देखिएको बजार पुन: उचाइतर्फ नै जाने विश्वासमा लगानीकर्ता रहेका छन्। 

अहिले लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले बजार नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्। कारोबार रकममा देखिएको उत्साह पनि बजार बढ्ने आधारका रुपमा हेरिएको उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, साउन १२ २०८२१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend