आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

लगातार २५६ अंकले बढेपछि नेप्सेमा 'करेक्सन', २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार

आइतबार, साउन ११ २०८२
लगातार २५६ अंकले बढेपछि नेप्सेमा 'करेक्सन', २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार

आज आइतबार भएको २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार नेप्सेमा अहिलेसम्मकै चौथो ठूलो कारोबार रकम हो।

काठमाडौं- लगातार २५६.८९ अंकले बढेको सेयर बजारमा करेक्सन देखिएको छ। जहाँ अहिलेसम्मकै चौँथो ठूलो कारोबार रकमसमेत देखिएको छ। 

आइतबार व्यापक उतारचढावबीच १८.४५ अंकले घटेर बजार २९६४.२० बिन्दुमा पुगेको छ। २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको बजारमा ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १८६ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता आइतबार व्यापक उतारचढावबीच ०.३२ अंकले बढेको बजार सोमबार २१.७६ र मंगलबार ८०.९६ अंकले बढेको थियो। बुधबार ५.१८ अंकले बढेको बजारमा बिहीबार पनि ३.७६ अंकको वृद्धितर्फ देखिएको थियो। 

गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा राम्रो वृद्धि भइरहेको छ। साउनको पहिलो कारोबारमा १ गते बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो। गएको साता आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ, सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ, मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ, बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ र बिहीबार १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँको कारोबार भएको थियो। 

गएको वर्ष पनि साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। जतिबेला बजार ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्। 

अहिले लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले बजार नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्। कारोबार रकममा देखिएको उत्साह पनि बजार बढ्ने आधारका रुपमा हेरिएको उनीहरूको भनाइ छ। त्यहीअनुसार बजारको वृद्धि देखिइरहँदा आइतबार सामान्य करेक्सन आएको हो। 

यी हुन् अहिलेसम्मका सर्वाधिक पाँच कारोबार

२०८१ साउन ३१ गते - २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ

२०८१ भदौ २ गते - २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ

२०८१ साउन २८ गते - २७ अर्ब २४ करोड २० लाख रुपैयाँ

२०८२ साउन ११ गते - २६ अर्ब ५७ करोड ७४ लाख

२०८१ साउन २७ गते - २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँ


प्रकाशित : आइतबार, साउन ११ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend