काठमाडौं- काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन्।
विश्वव्यापी रुपमा फैलिएको तेस्रो चरणको ओमिक्रोन भाइरसका कारण ठप्पजस्तै रहेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै चहलपहल बढ्न थालेको हो। बढ्दो ओमिक्रोन भाइरसका कारण सरकारले रात्रिकालिन व्यवसायमा बन्देज लगाएसँगै सुनसान रहेको ठमेल यही फागुन १ गतेदेखि पुनः रात्रिकालिन व्यवसाय सञ्चालनमा खुला गरिँदा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा कोरोनाको सङ्क्रमणदर कम र रात्रिकालीन व्यवसाय सुरु भएसँगै ठमेलमा पर्यटकीय गतिविधि बढेको बताउँछन्। 'ठमेलका गल्लीहरुमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ', उनी भन्छन्।
यहाँ ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ। ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् । ठमेलमा कोरोनाकै बीचमा सञ्चालनमा आएको चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउँछन्।
'एक महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्', उनी भन्छन्। अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।
बौद्धनाथ क्षेत्र विकास समितिका सचिव बसन्त लामा पछिल्लो समय बौद्ध क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन्। 'शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ, विदेशी पर्यटक पनि फाट्टफुट्ट आउन थालेका छन्', उनी भन्छन्। कोरोनाको तेस्रो लहरका कारण बन्द रहेको बौद्धनाथ क्षेत्रभित्रको मण्डला परिसर भने हालसम्म पनि नखोलिएको सचिव लामा बताउँछन्।
कोरोनाको समय अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे। अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो। व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन्। ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन्।
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्व उपाध्यक्ष निलहरि बाँस्तोला कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनर्जिवन दिनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउँछन्। 'विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्छ', उनी भन्छन्।
नेपाल पर्यटन बोर्डका अधिकृत कविन्द्र भट्ट जनवरीमा मात्र हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल भित्रिएको बताउँछन्। 'कोरोनाको तेस्रो लहर तीव्र गतिमा बढिरहेको बेला एक महिनामा झण्डै १७ हजार पर्यटक भित्रिनु नेपालको पर्यटन उद्योगका लागि खुशीको कुरो हो', उनी भन्छन्। गतवर्ष उक्त महिनामा नेपालमा जम्मा आठ हजार ८७४ विदेशी पर्यटक भित्रिएका थिए।
बोर्डका अनुसार जनवरीमा भित्रिनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। उक्त महिना भारतबाट तीन हजार ९१६, बङ्गलादेशबाट एक हजार २३१, युरोपबाट तीन हजार ५२७, एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० तथा अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनन्जय रेग्मी पछिल्लो समय नेपालमा विदेशी पर्यटक आउने क्रम बढेको बताउँछन्। 'कोरोनाबाट थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ, अब विस्तारै पर्यटकीय गतिविधि बढ्दै जान्छ', उनी भन्छन्।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको सिईओ रेग्मीको भनाइ छ। झण्डै दुई वर्षदेखि थला परेको नेपालको पर्यटन उद्योगलाई अगाडि बढाउनका लागि नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम अगाडि बढाएको छ।
बोर्डका सिईओ रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको उल्लेख गर्दै बोर्डले भारतीय पर्यटक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउँछन्। विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहज रुपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने उनको भनाइ छ। नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने उनको भनाइ छ।
नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१, सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। रासस