आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

२१ अंकले बढ्यो सेयर बजार, १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार

सोमबार, साउन ५ २०८२
२१ अंकले बढ्यो सेयर बजार, १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार

काठमाडौं- आइतबार स्थिर देखिएको सेयर बजार सोमबार बढेको छ। आइतबार व्यापक उतारचढावबीच ०.३२ अंकले बढेको बजार सोमबार २१.७६ अंकले बढेर २८९२.७३ बिन्दुमा पुगेको छ।

सोमबार पनि उतारचढावमा देखिएको बजार अन्तिम समयतिर पुन: उकालो लागेको थियो। १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार भएको बजारमा १५३ कम्पनीको सेयर मूल्य बढेको छ। ९६ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा राम्रो वृद्धि भइरहेको छ। साउनको पहिलो कारोबारमा गएको साता बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएकोमा यो साता आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो। 

गएको वर्ष पनि साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। जतिबेला बजार ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। 

अहिले मौद्रिक नीतिपछि सकारात्मक देखिएका लगानीकर्ता सम्हालिएसँगै बजार बढिरहेको छ। साउनको पहिलो कारोबार व्यापक हरियाली भएकोमा दोस्रो कारोबार स्थिर देखियो भने तेस्रो कारोबार पुन: उचाइतर्फ लागेको छ।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे। अहिले लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले बजार नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, साउन ५ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend