आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

२९२२ मा पुगेको नेप्से उतारचढावबीच २८७० मा, २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार

आइतबार, साउन ४ २०८२
२९२२ मा पुगेको नेप्से उतारचढावबीच २८७० मा, २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा व्यापक वृद्धि भइरहेको छ। यो साता पहिलो कारोबारमा आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार हुँदा बजार भने उतारचढावबीच स्थिर देखिएको छ। 

गएको वर्ष पनि साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। जतिबेला बजार ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। 

यो साता पहिलो कारोबारमा आइतबार व्यापक उतारचढावबी ०.३२ अंकले बढेर बजार २८७०.९६ बिन्दुमा पुगेको छ। आइतबार बढ्दै २९२२ मा पुगेको सेयर बजार उतारचढावबीच २८७० मा आइपुगेको हो। १०५ कम्पनीको सेयर मूल्य बढेको बजारमा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार भएको कारोबार गएको वर्ष साउनयताकै ठूलो कारोबार हो। 

गएको तीन सातामा बजार समग्रमा २७४.८५ अंकले बढेको थियो। गएको साता आइतबार २९ अंकले बढेको बजार सोमबार ३५.०९ अंकले घटेको थियो। मंगलबार ३४.४६ अंकले बढेको बजार बुधबार पनि ३४.६१ अंकले बढेको थियो। साउन १ गते बिहीबार ७५.८४ अंकले बढेर २८७०.६४ बिन्दुमा पुगेको थियो। जहाँ १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो।      

मौद्रिक नीतिपछि सकारात्मक देखिएका लगानीकर्ता सम्हालिएसँगै बढिरहेको बजारमा साउनको पहिलो कारोबार व्यापक हरियाली भएकोमा दोस्रो कारोबार स्थिर देखिएको हो। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्। आइतबारको करेक्सन लामो वृद्धिपछि आएकाले बजारको अवस्थामा फरक नपार्ने र उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे। अहिले लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले बजार नयाँ उचाइतर्फ लाग्ने उनीहरु बताउँछन्।


प्रकाशित : आइतबार, साउन ४ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend