बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

कामदारका लागि पहिलो गन्तव्य बन्यो यूएई, रोजगारीका लागि विदेश जाने महिला भने घटे

आइतबार, साउन ४ २०८२
कामदारका लागि पहिलो गन्तव्य बन्यो यूएई, रोजगारीका लागि विदेश जाने महिला भने घटे

म्यानपावर व्यवसायीहरूका अनुसार यूएईले बंगलादेश र पाकिस्तानबाट अहिले कामदार लैजान प्रतिबन्ध लगाएको छ। जसकारण नेपालीको माग बढेको छ। नेपालका अधिकांश म्यानपावरमा अहिले यूएईको माग बढी छ।

काठमाडौं- पछिल्लो एक वर्षमा ८ लाखभन्दा बढीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा रोजगारीका लागि बाहिरिने कामदारको (अन्तिम श्रम स्वीकृति लिने) संख्या ८ लाख ३९ हजार २ सय ६६ रहेको छ। रोजगारीका लागि जाने कामदारको संख्या नेपालको वैदेशिक रोजगारीको इतिहासमा यो सबैभन्दा बढी हो।

यसअघि सबैभन्दा बढी आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ७ लाख ७१ हजार ३ सय ३१ रहेको थियो।

विभागका अनुसार गत आवमा वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ९४ हजार ४ सय ५५ जना महिला र ७ लाख ४४ हजार ८ सय ११ जना पुरुष छन्। कुल कामदारक‌ो ११.२५ प्रतिशत महिला कामदार रोजगारीका लागि विदेश गएका छन्।

आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ७ लाख ४१ हजार २ सय ९६ रहेको थियो। त्यस अवधिमा ८० हजार १ सय ७२ जना महिला कामदार रोजगारीका लागि विदेश गएका थिए। जुन कुल कामदारक‌ो १०.८१ प्रतिशत रहेको थियो।

३३ प्रतिशत युवाको रोजाइमा यूएई

वैदेशिक रोजगारीमा जाने कुल कामदारमध्ये सबैभन्दा बढी कामदार यूएई पुगेका छन्। विभागका अनुसार यूएई जाने कामदारको संख्या गत आवमा २ लाख ७४ हजार ५ सय ९० रहेको छ। जसमा महिला ३२ हजार ८ सय १४ र पुरुष कामदारको संख्या २ लाख ४१ हजार ७ सय ७६ रहेको छ।

म्यानपावरमार्फत नयाँ कामका लागि भन्दै रोजगारीका लागि जाने कामदारको संख्या ३ लाख ५९ हजार ६ सय ७५ रहेको विभागले जनाएको छ। जसमा यूएई जाने कामदारको संख्या मात्रै १ लाख ७७ हजार ३३ रहेको छ।

यसैगरी, गत आवमा रोजगारीका लागि नेपाल आइ पुन: विदेश जाने कामदारको संख्या ३ लाख ३३ हजार ३ सय ९ रहेको छ। जसमा यूएई जानेको संख्या ७३ हजार ४ सय ४२ रहेको छ। यसरी हेर्दा गत आवमा रोजगारीका लागि यूएई जाने कामदारको संख्या कुल कामदारको संख्याको ३२.७१ प्रतिशत रहेको छ।

आर्थिक वर्ष ०८०/०८१ मा पनि सबैभन्दा बढी कामदार रोजगारीका लागि यूएई पुगेका थिए। उक्त वर्ष यूएई जाने कामदारको संख्या १ लाख ९३ हजार ४ सय ३८ रहेको थियो।

विभागका अनुसार यूएई जाने कामदारको संख्या एक वर्षमै ८१ हजार १ सय ५१ ले बढेको छ। समग्रमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या भने ९७ हजार ९ सय ६९ रहेको थियो।

यसैगरी, दोस्रो बढी कामदार साउदी अरब पुगेका छन्। साउदी अरब जाने कामदारको संख्या १ लाख ५२ हजार ५ सय ५७ रहेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार तेस्रो बढी कामदार जाने देश कतार रहेको छ। कतारमा रोजगारीका जाने नेपाली कामदारको संख्या १ लाख ४० हजार ७ सय ९२ रहेको छ।

किन यूएई रोजाइमा पर्‍यो?

म्यानपावर व्यवसायीहरूका अनुसार यूएईले बंगलादेश र पाकिस्तानबाट अहिले कामदार लैजान प्रतिबन्ध लगाएको छ। जसकारण नेपालीको माग बढेको छ। नेपालका अधिकांश म्यानपावरमा अहिले यूएईको माग बढी छ।

व्यवसायीहरूका अनुसार कामदार नपाएकै कारण अझै यूएई जानेको संख्या कम भएको हो। मागअनुसार कामदार पाएको भए अझै यो संख्या बढ्ने थियो।

युवाको रोजाइमा यूएई पर्नुको अर्को कारण त्यहाँबाट युरोप तथा अमेरिका छिर्न सहज छ। साथै मलेसियाको रोजगारी बन्द हुँदा युवाको रोजाइमा यूएईलगायतका खाडी देश नै परेको छ।


प्रकाशित : आइतबार, साउन ४ २०८२१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend