आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

मुद्दती निक्षेपमा कम ब्याज पाएपछि विकल्पको खोजीमा लगानीकर्ता, ७ प्रतिशतको ऋणपत्रमा ४ गुणा आवेदन

images
आइतबार, साउन ४ २०८२
images
images
मुद्दती निक्षेपमा कम ब्याज पाएपछि विकल्पको खोजीमा लगानीकर्ता, ७ प्रतिशतको ऋणपत्रमा ४ गुणा आवेदन

बैंकहरूले लागत बढेको भन्दै निक्षेपको ब्याजदर घटाएपछि बचतकर्ता बचतका लागि थप निरुत्साहित हुने खतरा बढेको छ।

images

काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर थप घटाउने नीति लिएपछि लगानीकर्ताहरूले नयाँ विकल्पहरू खोजी गर्न थालेका छन्। मुद्दती निक्षेपभन्दा बढी ब्याज पाउने र सेयर बजारभन्दा तुलनात्मकरुपमा सुरक्षित क्षेत्र मानिएका वित्तीय उपकरणहरूमा लगानीकर्ता आकर्षित देखिन थालेका छन्।

images
images

जोखिम लिनसक्ने लगानीकर्ताहरूले पछिल्लो समय सेयर बजारमा विस्तारै लगानी बढाउन थालेका छन्। मौद्रिक नीतिले पनि सेयर बजारलाई प्रोत्साहित गर्ने लक्ष्यसहित सेयर कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याएको छ। 

images
images

अर्थतन्त्रले पनि विस्तारै गति लिन सक्ने अनुमानसँगै आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य आर्थिक गतिविधि प्राय ठप्प हुने भएकाले सेयर बजारले विस्तारै गति लिने क्रम जारी छ। 

images
images
images

अर्कोतर्फ सेयर बजारमा जोखिम उठाउन नचाहाने लगानीकर्ताका लागि मुद्दती निक्षेप सबैभन्दा सुरक्षित लगानीको विकल्प हो। ठूला संस्थागत लगानीकर्तादेखि सर्वसाधारणले समेत मुद्दती निक्षेपमा बचत जम्मा गर्न बढी रुचाउँदै आएका छन्। तर विगत दुई वर्षयता कर्जाको माग नभएको भन्दै बैंकहरूले साधारण बचतसहित सम्पूर्ण मुद्दती निक्षेपहरूको ब्याजदर धमाधम घटाइरहेका छन्। 

मुद्दती निक्षेपको ब्याजदर घटेर औषतमा ३ देखि ६ प्रतिशतको हाराहारी आएपछि बचतकर्ताहरू बचत गर्न निरुत्साहित हुन थालेका छन्।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर कोरिडोरका सम्पूर्ण नियामकीय व्यवस्थाहरू घटाएपछि बचतकर्ता विचलित हुन थालेका छन्। 

ब्याजदर घटेको भन्दै मुद्दती निक्षेपकर्ताहरूले ठूलो रकम नवीकरण नै गरेका छैनन्। उनीहरूले हालको ब्याजदरभन्दा बढी प्रतिफल प्राप्त हुने वैकल्पिक उपकरण खोजी गर्न थालेका छन्। 

यसको उदाहरण नेपाल एसबीआई बैंकले जारी गरेको ऋणपत्र भएको छ। ७ प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजारका दरले निष्कासन गरेको ऋणपत्रमा ४ गुणा बढी आवेदन परेको छ। सन् २०९० मा परिपक्व हुने गरी ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकोमा १ करोड २० लाख कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ। 

वार्षिकरुपमा ७ प्रतिशत लाभांश वितरणको सर्त राखेर नेपाल एसबिआईको ऋणपत्र गत असार ३० गतेबाट निष्कासन सुरु गरिएको थियो।
नेपालको सेयर बजारमा प्राथमिक सेयर निष्कासनमा लगानीकर्ताको विशेष रुची रहँदै आएकोमा यसपटक भने ऋणपत्रमा समेत लगानीकर्ताहरू आकर्षित भएका छन्।

बैंकको ब्याजदर न्यून भएसँगै बढी प्रतिफल प्राप्त हुने आशमा लगानीकर्ताहरू ऋणपत्रमा आकर्षित भएका हुन्। यसलगत्तै नबिल बैंक, सिद्धार्थ बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरूले थप ऋणपत्र निष्कासन गर्ने तयारी गरेका छन्।

ब्याजदर तत्काल बढ्ने अवस्था नरहेकाले उक्त ऋणपत्रहरूमा मागभन्दा बढी आवेदन पर्ने निश्चित छ। ब्याजदर घटेको समयमा दोस्रो बजारमा समेत ऋणपत्रको खरिद-बिक्री बढ्ने गरेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर कोरिडोरको माथिल्लो सीमा बैंक दर ६.५ प्रतिशितबाट घटाएर ६ प्रतिशत, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशतमा ल्याएसँगै बैंकहरूले साधारण बचतको ब्याजदर घटाएर २.७५ प्रतिशतमा ल्याएका छन्।

यस्तै मुद्दती निक्षेपको ब्याजदरसमेत बैंकहरूले ०.१५ प्रतिशत आधार बिन्दुदेखि ०.५ प्रतिशत आधार बिन्दुसम्मले घटाएका छन्। बैंकहरूले लागत बढेको भन्दै निक्षेपको ब्याजदर घटाएपछि बचतकर्ता बचतका लागि थप निरुत्साहित हुने खतरा बढेको छ। 


प्रकाशित : आइतबार, साउन ४ २०८२१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend