बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

कोकाकोलाको व्यापारमा गिरावट हुँदा पेप्सीको उकालो, प्रतिस्पर्धी हुन सक्ला क्याम्पा कोला?

आइतबार, साउन ४ २०८२
कोकाकोलाको व्यापारमा गिरावट हुँदा पेप्सीको उकालो, प्रतिस्पर्धी हुन सक्ला क्याम्पा कोला?

नेपालको चौधरी समूहले भारतको रिलायन्स इन्डस्ट्रिजसँगको सहकार्यमा भारतमा उत्पादन गरिएको ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ।

काठमाडौं- नेपाली कोल्ड ड्रिंक्स बजारमा दुई कम्पनीबीच सीमित भइरहेको प्रतिस्पर्धामा तेस्रो कम्पनी थपिएको छ। बोटलर्स नेपालको कोकाकोला र वरुण वेभरेजको पेप्सीबीच भइरहेको परम्परागत प्रतिस्पर्धामा भारतीय ब्रान्ड क्याम्पा कोलाको प्रवेश भएको छ।

भारतको रिलायन्स इन्डस्ट्रिजको रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडले नेपालको चौधरी समूहसँगको सहकार्यमा नेपाली बजारमा क्याम्पा कोला भित्र्याएपछि कोल्ड ड्रिंक्स बजारमा नयाँ प्रतिस्पर्धाको संकेत देखिएको हो। मूल्य, वितरण र ब्रान्ड पोजिसनिङको आधारमा कोल्ड ड्रिंक्स बजार अब थप प्रतिस्पर्धा हुने छ।

कोकाकोला, स्प्राइट, फ्यान्टालगायतका पेयपदार्थ उत्पादन गर्ने बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड मिलेर बनेको समूहले आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ३७ करोड रुपैयाँबराबरको व्यापार गरेको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालका अनुसार आव २०७९/८० मा उक्त समूहले १२ अर्ब ६४ करोड रुपैयाँको कारोबार गरेको थियो। यो हिसाबले कम्पनीको कारोबार १० प्रतिशतले घटेको हो।

यता पेप्सी, माउन्टेन ड्यू, स्लाइस लगायत पेयपदार्थ उत्पादन गर्ने वरुण वेभरेज (नेपाल) प्रालिले भने सोही अवधिमा व्यापार वृद्धिको गति कायम राखेको देखिन्छ। कम्पनीले २०७९/८० मा ७ अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेकोमा २०८०/८१ मा कारोबार १ करोड ५७ लाख रुपैयाँले बढाएर ७ अर्ब ७४ करोड रुपैयाँ पुर्‍याएको छ।

गत आव २०८१/८२ को साढे ८ महिनासम्म बोटलर्स नेपाल समूहले ७ अर्ब १० करोड रुपैयाँ बराबरको सञ्चालन आय हासिल गरेको छ भने वरुण वेभरेजले ५ अर्ब ७८ करोड रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ।

बोटलर्स नेपाल लिमिटेड सन् १९८७ मा स्थापित कम्पनी हो। यसले काठमाडौं र चितवनमा रहेका आफ्ना प्लान्टबाट कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्रान्डका पेय पदार्थ उत्पादन र वितरण गर्दै आएको छ। यसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) तराई क्षेत्रमा केन्द्रित छ।

वरुण वेभरेज (नेपाल) प्रालि सन् १९८५ मा स्थापना भएको हो। यसले काठमाडौं र नवलपरासीमा रहेको प्लान्टबाट पेप्सी, माउन्टेन ड्यू, स्लाइस, मिरिन्डा, सेभेन-अप, स्टिङ, एक्वाफिना र सोडा उत्पादन गर्दै आएको छ।

नयाँ प्रतिस्पर्धी ‘क्याम्पा कोला’

नेपालको चौधरी समूहले भारतको रिलायन्स इन्डस्ट्रिजसँगको सहकार्यमा भारतमा उत्पादन गरिएको ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ।

विगतमा भारतीय बजारमा लोकप्रिय रहेको यो ब्रान्ड पुनः लन्च गरी नेपाल भित्र्याइएको हो। यसले बजारमा कोकाकोला र पेप्सी ब्रान्डबीचको प्रतिस्पर्धालाई थप चुनौती दिने अनुमान गरिएको छ।

सन् २०२२ मा क्याम्पा ब्रान्ड खरिद गरी २०२३ देखि पुनः व्यावसायिक उत्पादन थालेको रिलायन्सले अब नेपाललाई नयाँ बजारका रूपमा विस्तार गरेको हो।

नेपालमा क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, इनर्जी ड्रिंक गोल्ड बुस्ट र बेरी किकसहितका उत्पादन ३० देखि ४० रुपैयाँ मूल्यमा उपलब्ध गराइएको छ। 


प्रकाशित : आइतबार, साउन ४ २०८२११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend