काठमाडौं- गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा उत्साह देखिएको छ। मौद्रिक नीतिपछि सकारात्मक देखिएका लगानीकर्ता सम्हालिएसँगै बढिरहेको बजारमा साउनको पहिलो कारोबार व्यापक हरियाली भएको छ।
साउन महिनाको पहिलो कारोबार साथै यो साताको अन्तिम कारोबारमा आज बिहीबार बजार ७५.८४ अंकले बढेर २८७०.६४ बिन्दुमा पुगेको छ।
१६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको बजारमा २३९ कम्पनीको सेयर मूल्य बढेको छ। ९ कम्पनीको सेयर मूल्य घटेको छ।
बिहीबार सबै समूहमा हरियाली देखिएको छ। जहाँ बैंकिङ समूह १.७६, विकास बैंक १.९५, हाइड्रोपावर ३.०४, फाइनान्स २.८०, माइक्रोफाइनान्स २.५०, लाइफ इन्स्योरेन्स ३.१४ र ननलाइफ इन्स्योरेन्स २.१८ प्रतिशतले बढेको छ।
यो साता पहिलो कारोबारमा आइतबार २९ अंकले बढेर २७६०.८१ बिन्दुमा पुगेको बजार सोमबार ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा झरेको थियो। मंगलबार ३४.४६ अंकले बढेको बजार बुधबार पनि ३४.६१ अंकले बढेको थियो।
यो साता समग्रमा बजार १३८.८२ अंकले बढेको छ। गएको साता समग्रमा २७.८४ अंकले बढेको सेयर बजार त्यसअघिको साता १०८.१९ अंकले बढेको थियो। सकारात्मक गतितर्फ लाग्ने संकेत गरिरहेको बजारमा मौद्रिक नीतिले लगानीकर्ता थप उत्साहित देखिएका छन्।
२०८१ असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजार २०८२ असार ३२ गते २७९४.७९ बिन्दुमा पुगेको थियो। एक वर्षमा ५५४.३८ अंकले बढेको बजारले नयाँ उच्च बिन्दुतर्फको बलियो संकेत देखाएको छ। जसलाई साउनको पहिलो कारोबारले समेत साथ दिएको छ।
गएको वर्ष असार अन्तिममा २२४० मा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। गएको वर्ष साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबारसमेत भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्।
गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।
अहिले मौद्रिक नीतिले बजार वृद्धिमा थप सहयोग पुग्ने देखिएसँगै उछाल आइरहेको विश्लेषकहरू बताउँछन्। अहिले देखिएको वृद्धिले बजारलाई बलियो रुपमा उचाइतर्फ जान सहयोग पुग्ने उनीहरूको भनाइ छ। अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।